-गीता बराल
सपनाहरुलाई बन्धकी राख्दै
नुनिला आँसुले गाँस निल्दै
फुटेका कुर्कुच्चा लतार्दै
शहरको प्रेमिल कहरसँग रमाउँदै
एक थान आँखाहरू
जागिरको खोजीमा
भोक र निद्राको ईश्वर खोजिरहेथे ।
अचानक भेटियो ऊ
अक्करे भीरमा फुलेको
सुनाखरी जस्तो ।
टिपेर सजाउने मन थियो
पाखैभरी मौसमी गुराँस जस्तोे
चुल्ठो सजाऊँ जस्तो
तर, ऊ
भावनात्मक होइन
प्रयोगवादी हो ।
उसलाई चढाउने आँसु पोखियो
उसलाई देखाउने हाँसो पनि सकियो
के दिऊँ म उसलाई ?