–रवि प्राञ्जल
हिँड्नु धर्म हो मेरो
जसरी
बग्नु धर्म हो पानीको
पोल्नु धर्म हो आगोको ।
मैले हिँडी नरहे
बल्ने थिएन आगो
बग्ने थिएन पानी
हुने थिएन सृजना
हुने थिएन संहार
अभाव हुने थियो आवृत्तिको
वृत्तमा
वृत्तकै आवृत्तिमा ।
मभित्रै समाहित छ आरम्भ
र, मभित्रै समाहित छ समाप्ति
मेरो आरम्भपछिको समाप्ति भनेको
पुनः आरम्भ हुनु हो
जसरी मुहानको पानी
सागरमै समाहित भए पनि
रोकिन्न पानीको यात्रा
पुनः मुहान बनेर पानी
फेरि बग्छ, बगिरहन्छ ।
तिमी भन्छौ–
‘मृत्यु निर्विकल्प छ’
म भन्छु–
‘म मात्र निर्विकल्प छु’
यदि म
एक सेकेन्ड मात्र रोकिएँ भने
कसैको मृत्यु रोकिने छ
यदि म
एक पल मात्र स्थिर भइदिएँ भने
कसैको जन्म रोकिने छ
मेरो रुकावटमा
फेरि घुम्ने छैन पृथ्वी
र, फेरि उदाउने छैन सूर्य ।
यदि मैले धर्म तोडिदिए
यदि मैले एक पल
बेगिएर वा रोकिएर हिँडिदिए
क्राइस्ट, माक्र्स र कृष्ण
हिटलर, बुद्ध र चार्बाक
फेरि फर्कने छैनन् इतिहासबाट ।
म नै जन्म
म नै मृत्यु
म नै यात्रा, पुनर्यात्रा
त्यसैले, सक्छौ भने आऊ
मलाई रोक
मेरो यात्रालाई रोक
र, मेरो चुनौती स्वीकार गर ।