वीरगन्ज : भारतको कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएको बेला पर्सास्थित नेपाल–भारत नाकामा कडाइ गरिएको छ ।
देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज–रक्सौल नाकामा दुवै देशका सुरक्षाकर्मीले सुरक्षा सतर्कता अपनाउँदै सीमा आवतजावतमा कडाइ गरेका हुन् । दुवै देशका सुरक्षाकर्मीले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सर्वसाधारणलाई पहिचान खुल्ने परिचयपत्र हेरेरमात्रै प्रवेश अनुमति दिएका छन् ।
यसअघि भारतमा नेपालीले यात्रा गर्दा हवाई तथा रेलमार्गमा मात्र परिचयपत्र अनिवार्य थियो । नेपालमा यात्रा गर्दा भारतीयलाई भने कुनै परिचयपत्र देखाउनुपर्ने अनिवार्यता थिएन । त्यस्तै सीमावर्ती भारतीय बजार क्षेत्रमा आवतजावत गर्दा नेपालीलाई पनि परिचयपत्र अनिवार्य थिएन ।
बिहारको पश्चिम चम्पारणमा १५ वैशाखमा बसकेो दुवै देशका सीमावर्ती क्षेत्रका सीमा सुरक्षा बल प्रमुखहरूको बैठकले नेपाल–भारत सीमा नाकामा आवतजावत गर्नेहरूको चेकजाँचमा कडाइ गर्ने सहमति भएको थियो ।
बैठकमा सहभागी पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सीमा आवतजावत गर्नेहरूको चेकजाँचमा कडाइ गर्ने सहमति भएको जनाए ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि नेपाल–भारत आवतजावत गर्नेहरूको सीमा नाका चेकजाँचमा कडाइ गरिएको बताए ।
नाकाबाट हुनसक्ने अवैध घुसपैठ र अनधिकृत व्यक्तिको प्रवेशलाई निरुत्साहित गर्न सीमा नाकामा थप सतर्कता अपनाएर चेकजाँचमा कडाइ गरिएको अर्यालले बताए ।
भारतीय समकक्षीहरूको सूचना र समन्वयमै वीरगन्ज नाकामा पनि अहिले चेकजाँचमा कडाइ गरिएको उनले बताए ।
भारत–पाकिस्तानबीचको सम्बन्धमा पछिल्लो समय विकसित अवस्थालाई पनि मध्यनजर गर्दै नाकाको चेकजाँचलाई प्रभावकारी बनाइएको उनले बताए ।