२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

युगकवि सिद्धिचरण पुरस्कार डा. दुबसु क्षेत्रीलाई प्रदान गरिने

shivam cement
मध्यान्ह
२०८२ वैशाख १७ गते १२:१८
युगकवि सिद्धिचरण पुरस्कार डा. दुबसु क्षेत्रीलाई प्रदान गरिने

काठमाडौं : यस वर्षको युगकवि सिद्धिचरण पुरस्कार साहित्यकार डा. दुर्गाबहादुर सुवेदी क्षेत्री (डा. दुबसु क्षेत्री)लाई प्रदान गरिने भएको छ । युगकवि सिद्धिचरण प्रतिष्ठानले नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेबापत डा. क्षेत्रीलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानबाट प्रा.डा. मोहनप्रसाद लोहनीको संयोजकत्वमा प्रा.डा. अभि सुवेदी र कवि मञ्जुल सदस्य रहेको त्रिसदस्यीय प्रतिभा छनोट समितिको सिफारिसमा २०८२ सालको 'युगकवि सिद्धिचरण पुरस्कार' साहित्यकार डा. क्षेत्रीलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

साहित्यकार, अनुसन्धाता एवं विभिन्न संस्थाका संस्थापक डा. क्षेत्रीले युगकविद्वारा लिखित 'भीमसेन थापा' खण्डकाव्यको प्रकाशन गर्ने, आफैंले संवाद लेखन गरी 'भीमसेन थापा' खण्डकाव्यको कथावस्तुलाई नाटकीकरण गरेर बेलायतलगायतका देशहरूमा मञ्चन गराउने, युगकविका कविताहरूको अङ्ग्रेजी र जापानी भाषामा अनुवाद गराई प्रकाशनसमेत गर्ने जस्ता काममा निःस्वार्थ भावले समर्पित भई युगकविको सुयशलाई अन्तर्राष्ट्रिय जगत्‌मा फैलाउने कार्य गरेकाले पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाले जानकारी दिए ।

साहित्यकार डा. क्षेत्रीले ३ दर्जनभन्दा बढी आफ्‌ना मौलिक सिर्जनात्मक तथा अनुसन्धानात्मक कृक्तिमार्फत, ३ दर्जनभन्दा बढी सम्पादित कृति तथा पत्रपत्रिकामार्फत, १ दर्जनभन्दा बढी अनूदित कृक्तिमार्फत र २ दर्जन संघसंस्थाको स्थापना र नेतृत्वमार्फत विशिष्ट प्राज्ञिक कर्म गरी नेपाली भाषा साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुन्ऱ्याएको प्रतिष्ठानले उल्लेख गरेको छ ।

आगामी जेठ ९ गते आयोजना हुने युगकविको ११४ औं जन्मजयन्ती विशेष समारोहमा डा. क्षेत्रीलाई नगद १ लाख रुपैयाँसहित स्मृतिचिह्न र सम्मानपत्र रहेको उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानले बताएको छ ।

यो प्रतिष्ठान अध्ययन, अनुसन्धान, प्रकाशन र स्रष्टा सम्मान आदिका माध्यमबाट नेपाली भाषा साहित्यको उन्नयन गर्ने उद्देश्यले २०४२ सालमा स्थापित साहित्यिक संस्था हो । यस प्रतिष्ठाले हरेक वर्ष सिर्जना, समालोचना, अनुसन्धान तथा अन्य विभिन्न माध्यमबाट युगकविको सुशय फैलाउन र नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्न महत्त्वपूर्ण योगदान दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त १ जना विशिष्ट प्रतिभालाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान गर्दै आएको छ । 

ADV

सम्बन्धित खबर

Advertise