-शरण राई
...मलाई डरलाग्दो मान्छेले खेदिरहेको छ । ऊ धार्मिक कथाको राक्षस, भुत वा डाका, लुटेरा हुन सक्छ । हातमा नांगो खुकुरी छ । म चारैतिर कोही छ कि भनेर हेर्छु । कोही मद्दत गर्ने मानिस छैन । म भागिरहेको छु, भागिरहेको छु ...। ऊ खेदिरहेको छ, खेदिरहेको छ ।
भाग्दाभाग्दै भीरको छेउमा पुग्छु । अब भाग्ने ठाउँ छैन । ज्यान जाने नै भयो । म पनि आफूसित भएको खुकुरी दापबाट झिकेर लड्न तयार हुन्छु । लड्दालड्दै पछाडि सर्दा भीरबाट झर्छु ।
के अचम्म ?
मरें होला भनेको म त अग्लो घरको तेस्रो तलामा पो हुन्छु ! मेरा प्राध्यापक साथीहरू पनि थुप्रै छन् । सम्मेलनबाट फर्किरहेका रे ! तल सडकमा हेरेको, ‘बन्द’ रे ! पुलिस र बन्दकर्ताहरू भिडिरहेका छन् ।
अलिक शान्त भएपछि ओर्लन्छौं । रात परिसकेको छ । कोही कता, कोही कता जान लागे । मचाहिँ अब कता जाऊँ ? अन्योलमा थिएँ ।
‘एकछिन पर्खिंदै गर्नुहोस् है !’ भनेर जानुभएका हरि सर आउनुभएको छैन । यो परदेशको ठाउँमा रात कता बिताउने होला ? चर्को तनाव भइरहेको हुन्छ ।
हरि सर आउनुहुन्छ । अब कता बस्ने ? रात कता काट्ने ? अझ चर्को तनाव भइरहेको हुन्छ ।
अचानक आँखा खुल्छ ।
टेन्सन समाप्त । आनन्द लाग्छ । अघिको मैले भोगिरहेको चर्को तनाव सपनामा पो रहेछ । आँखा खोलिनासाथ सपनाको दुःख, सुख, रमाइलो, नरमाइलो तनाव आदि ... सब समाप्त !
आँखा खोल्दा सपना समाप्त भएझैं जीवनमा पाइने दुःख–सुख, चिन्ता–पीडा, हर्ष–आनन्द सबथोक सबथोक आँखा चिम्लिनासाथ समाप्त ! जीवनका सब वैभव, शान, शौकत, हर्ष–आनन्दका साथ पीडा, दुःख, रिस, राग, द्वेष, क्लेष सब सपना जस्तै आँखा चिम्लिनासाथ समाप्त !
मृत्युमा आँखा चिम्लिनासाथ समाप्त !