२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

नछोपिने राष्ट्रिय लज्जा

२०८२ वैशाख ११ गते ०६:१०
नछोपिने राष्ट्रिय लज्जा

जारी नेपाल सुपर लिग (एनएसएल)को खेल हेर्न चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आएका छन् । नेपाल आएका कार्लोसले प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गरेका छन् । कार्लोस नेपाल आउनुको मुख्य उद्देश्य भने एनएसएलको प्रवद्र्धन गर्नु हो । त्यसैले, दशरथ रंगशाला पुगेर कार्लोसले फुटबल हेरेका छन् । केही महिनाअघि मात्र इटाली राष्ट्रिय टिमका गोल किपर जियाजुली बुफोन नेपाल आएका थिए । केपी ओली कपको अवलोकन गर्न उनलाई नेपाल ल्याइएको थियो । कार्लोस र बुफोन दुवै जना आ–आफ्ना देशका कप्तान र विश्व बिजेता हुन् । त्यसैले, कार्लोस र बुफोनको नेपाल भ्रमणले नेपाली फुटबल क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने नै छ । 

फुटबलमा जस्तै क्रिकेटमा विश्व चर्चित क्रिकेटर नेपाल ल्याइएको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल अवलोकन गराउने प्रयोजनका निम्ति वेस्ट इन्डिजका क्रिकेटर ब्रायन लारा काठमाडौं आएका थिए । ब्रायन लारा अवलोकन गर्न आउँदा विश्व क्रिकेटका सुपर स्टारहरू शिखर धवन, रवि बोपरा, जिमी निशम, बेन कटिङलगायतको ठूलो पंक्तिले एनपीएल खेले । विश्व चर्चित क्रिकेटरहरू मैदानमा उतार्ने र ब्रायन लारा जस्ता क्रिकेटलाई कीर्तिपुर ल्याउँदा एनपीएलको आकर्षण बढाउन सहयोग पुगेको थियो । क्रिकेटमा त्यसै पनि आकर्षण छ । नेपालका महिला फुटबलरहरू ब्यावसायिक खेलका निम्ति विभिन्न देश पुगिरहेका छन् । नेपालमा तुलनात्मक कम आकर्षण फुटबलमै छ तर विश्व विजेता फुटबलरहरू नेपाल ल्याएर आकर्षण बढाउने प्रयत्न भइरहेको छ । 

नेपाल आउने अन्तर्राष्ट्रिय खेलाडीहरूलाई प्रधानमन्त्री, खेलकुदमन्त्रीसहित शीर्ष व्यक्तिहरूले भेटिरहेका छन् । नेपालकै खेलाडीले पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिँदा अथवा आकर्षण बढाउँदा नेताहरूबीच जस लिने होड नै देखिन्छ । सामाजिक संजालमा खुसी साट्न तँछाड मछाड नै हुने गरेको छ । तर, नेपालमा खेल क्षेत्रको दीर्घकालीन विकासमा सरकारको ध्यान पुगेको देखिँदैन । ठूला परियोजनाको कुरा मात्र गर्ने भनेर आरोपित प्रधानमन्त्री केपी शर्मा ओलीले समेत खेल पूर्वाधारमा आवश्यक ध्यान दिएका पाइँदैन । अहिले पनि पञ्चायतकालीन जीर्ण दशरथ रंगशालाबाहेक गतिलो फुटबल मैदान नेपालमा बन्न सकेको छैन । जीवन सुरक्षाको ग्यारेन्टी नहुँदा राष्ट्रिय टिमका फुटबलरहरू नै विदेश पलायन भइरहेका छन् । तर, सधैं सत्ताको चलखेलमा अल्मलिने नेताहरू भोट बढाउने खालका गतिविधिमा मात्र सहभागी गराउने गर्दै आएका छन् । त्यसैको उदाहरण हो विदेशी खेलाडीहरूलाई महत्त्वका साथ भेटेको सूचना प्रचार गरिनु ।

ADV

सम्बन्धित खबर