२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

हालसम्मकै ठूलो अवैध रकम बरामद

२०८१ चैत ६ गते ०६:२०
हालसम्मकै ठूलो अवैध रकम बरामद

काठमाडौं : रसुवाको केरुङ नाका हुँदै चीन लैजाँदै गरेको २५ करोड १९ लाख बढी नेपाली रुपैयाँ हुन आउने अवैध विदेशी मुद्रासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । टोखास्थित झोरबाट सोमबार राति अमेरिकी डलर र युरो बोकेको ट्रकसहित सिन्धुपाल्चोकका ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामालाई सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका– २ बस्ने तामाङलाई ना७ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर लगिँदै गरेको विदेशी मुद्रासहित पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतले बताए ।  

विदेशी मुद्रासहित पक्राउ परेका तामाङलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उक्त रकम अवैध सुन कारोबारसँग जोडिने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले बरामद गरेको अमेरिकी डलर र युरोलाई नेपाली सटही गर्दा २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ हुन आउने प्रहरीको हिसाब छ ।

यसरी पक्राउ गरिएको अवैध रकम हालसम्मकै सबैभन्दा ठूलो हो । यद्यपि, बरामद भएको रकम कसले पठाएको भन्ने अझै खुलेको छैन । लामाले उक्त रकम एक चिनियाँ नागरिकले दिएको दाबी गरेको प्रहरीको भनाइ छ ।

‘सामाखुसीमा ल्याएर एक चिनियाँ नागरिकले रकम गाडीमै दिएका हुन् । त्यसपछि मैले सिटमाथिको सिलिङमा राखेको हुँ’, चालक लामाले प्रारम्भिक बयानमा भनेको प्रहरी स्रोतले जनाएको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले यो रकमको कनेक्सन सुन खरिदसँग जोडिएको हुन सक्ने आशंका गरिएको बताए । ‘अहिलेसम्मको हाम्रो अनुसन्धानले यो मुद्रा सुन खरिदका लागि चीन जाँदै थियो भन्ने देखाएको छ । थप अनुसन्धान हुन बाँकी नै छ’, बस्नेतले मध्यान्हसँग भने । उक्त मुद्रा बोकेर केरुङ जाँदै गरेका व्यक्ति यसअघि ७ किलो सुनसहित पक्राउ गरी ५ वर्ष जेल बसेको खुलेको प्रहरीको भनाइ छ ।

लामालाई यसअघि अपराध अनुसन्धान कार्यालयकै टोलीले १३ पुस २०७३ मा कलंकीबाट ७ किलो अवैध सुनसहित पक्राउ गरेको थियो । त्यसबेला उनी रसुवाबाट गल्छी हुँदै काठमाडौं आउँदै गर्दा बा८च ७४२० नम्बरको हाइलक्स गाडीको अगाडि भागमा रहेको एयरफिल्टरको बक्सभित्र लुकाएर ल्याइएको ७ किलो सुनसहित पक्राउ परेका थिए । 

यो पटकको अवैध रकमसहित पक्राउ परेका कुसाङ भरियाका रूपमा मात्र प्रयोग भएको हुन सक्ने प्रहरीको भनाइ छ । सो रकम अवैध सुन तस्करीका लागि प्रयोग भइरहेको आशंका गरेकाले प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

५ वर्ष जेल बिताएर छुटेका उनै लामा पुनः डलर र सुन कारोबारीमा प्रयोग भइरहेको प्रहरी अधिकारीहरूको दाबी छ । १३ पुस २०७३ मा कलंकीबाट सुनसहित पक्राउ परेपछि राजस्व अनुसन्धान विभाग हरिहर भवनबाट मुद्दा चलाइएका उनी २०७८ सालमा छुटेको बताइएको छ ।

‘उनको विगत र अहिलेको कामको अवस्था हेर्दा र बरामद अवैध मुद्राको विश्लेषण गर्दा कनेक्सन सुन तस्करीसँगै जोडिने देखिन्छ’, प्रहरी प्रमुख बस्नेतले भने । लामाले चीनको नाकासम्म उक्त ट्रक पुर्‍याउने र त्यहाँबाट भिसा प्राप्त व्यक्तिले ट्रक चीन पुर्‍याउने गरेको प्रहरीको दाबी छ ।

फेरि यही शैलीमा उताबाट ट्रकमा सुन लिएर आउने र नाका कटाएपछि रसुवाबाट लामाले उक्त ट्रक गन्तव्यसम्म पुर्‍याउने गरेको पाइएको छ । 

सुन तस्करीमा यसअघि पनि पक्राउ परेर छुटेका व्यक्ति आफैं पैसा लिएर रसुवाको टिमुरेतर्फ जाँदै छन् भन्ने सूचनाका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले बताए । यो घटनामा विशेष अपरेसन गरेको उनको भनाइ छ ।

‘चालक पछाडि क्याबिनको माथिल्लो भागमा प्लाइउड प्रयोग गरेर बनाइएको फल्सबटम खोतल्दै जाँदा पैसाको थुप्रो देखियो’, उनले भने, ‘फल्सबटम फोडेर पैसा झिक्ने क्रममा अमेरिकी डलर र युरो मात्र देखियो । हामी नै छक्क पर्‍यौं । लामालाई ट्रकसहित अनुसन्धान कार्यालयमा ल्यायौं ।’ 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको अमेरिकी डलर १०० दरका ३ हजार ११९ थान र ५० दरका १७९ थान तथा युरो ५०० दरका ११ थान, २०० दरका ४८० थान, १०० दरका ४ हजार १४८ थान र ५० दरका १७ हजार १७७ थान रहेका प्रहरीले सार्वजनिक गरेको हो ।

लामालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।

सुन तस्करीको ट्रान्जिट नेपाल !

विगत केही वर्षदेखि नेपाललाई ट्रान्जिट बनाएर तस्करहरूले अवैध सुनको कारोबार गर्दै आएका छन् । राजनीतिक संरक्षणका आडमा अघिल्लो वर्ष मात्र ६१ किलो अवैध सुन अध्यागमन विभागको भन्सारबाटै नेपाल प्रवेश गरेको थियो ।

त्यसअघि पनि नेपालमा पटकपटक अवैध सुन तस्करी भइरहेको थियो । सुन तस्करी तथा पैठारीसम्बन्धी जाँचबुुझ आयोगले सरकारलाई बुुझाएको प्रतिवेदन कार्यान्वयन नभइरहँदा सुन तस्करीका घटनाहरू अझै रोकिन नसकेका विज्ञहरूले बताएका छन् ।

ADV

सम्बन्धित खबर