२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

हस्ताक्षर संकलन अभियान जारी

२०८१ माघ ३० गते ०६:२५
हस्ताक्षर संकलन अभियान जारी

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको निर्वाचन २ फागुनमै गर्नुपर्ने माग गर्दै दबाब दिनका लागि व्यवसायीले हस्ताक्षर संकलन अभियान जारी राखेका छन् ।

संघ कार्यसमितिले संख्या सय समाधानसहित विभिन्न कारणहरू देखाउँदै २ फागुनका लागि तय भएको नयाँ कार्यसमितिको निर्वाचनसहितको साधारणसभा स्थगित गरी आगामी १७ असार २०८२ मा गर्ने निर्णय गरेपछि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन र तराई वैदेशिक रोजगार व्यवसायी समाजले तोकिएको समयमै निर्वाचन गर्नुपर्ने माग गरिरहेका छन् । 

मंगलबार उनीहरूले सामाखुसीस्थित स्काई पार्टी प्यालेसमा सोही माग राखी हस्ताक्षर संकलन गरे । उनीहरूले २५० वढी व्यवसायीको हस्ताक्षर संकलन भएको बताएका छन् । हस्ताक्षर संकलनमा एसोसिएसन, मञ्च, संगठन, समाजसँगै वैदेशिक रोजगार व्यवसायी तमुधी समाज, वैदेशिक रोजगार व्यवसायी धौलाश्री समाज, नेपाल वैदेशिक रोजगार व्यवसायी सामाखुसी एकता समाज पनि अग्रसर भएका छन् । 

हस्ताक्षर संकलन कार्यक्रम अघि संयुक्त व्यवसायी भेलालाई समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री, एसोसिएसनका महासचिव महेशकुमार बस्नेत र समाजका वरिष्ठ उपाध्यक्ष अख्तर हुसेनलगायतले सम्बोधन गरेका थिए । उनीहरूले संघ कार्यसमिति व्यवसायीका समस्या समाधान गर्नुको साटो राजनीतिक दलहरूको आडमा संघ कब्जाको गलत बाटोमा अग्रसर भएको आरोप लगाउँदै संघर्ष समिति गठन गरेर भए पनि विधानविपरीतका गतिविधि रोक्ने जिकिर गरे । संकलन गरिएको हस्ताक्षर संघ र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि बुझाउने उनीहरूले बताएका छन् ।

यता, संघका अध्यक्ष राजेन्द्र भण्डारीले साधारणसभा सार्नुमा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको भन्दै व्यवसायीको इजाजत नवीकरणका लागि बाधक रहेको संख्या सय समस्याको समाधान, भवन खरिद प्रक्रिया टुंगोमा पुर्‍याउने र वैदेशिक रोजगार ऐन संशोधन, सेवा शुल्क परिमार्जनलगायतका थाँती रहेका महत्त्वपूर्ण काम टुंगो लगाउन सहज हुने भएकाले केही समयका लागि साधारणसभा र निर्वाचन सार्ने निर्णय गरिएको बताएका छन् ।  

ADV

सम्बन्धित खबर