२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा पाँच वर्षमा दोब्बर

मध्यान्ह
२०८१ माघ २८ गते २१:२०
बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा पाँच वर्षमा दोब्बर

काठमाडौं : पछिल्लो पाँच वर्षको समयमा सञ्चालनमा रहेका क, ख र ग वर्गका बैंकहरूको औसत निष्क्रिय कर्जा दोब्बर हुन पुगेको छ । पछिल्लो ४ वर्षमा बैंकिङ क्षेत्रको निष्क्रिय कर्जामा निरन्तर वृद्धि हुँदै दोब्बर भएको हो ।

आर्थिक वर्ष (आव) ०७७/७८ को पुस महिनाको तुलनामा आव ०७८/७९ को पुस महिनामा वाणिज्य र विकास बैंक समूहका बैंकहरूको औसत निष्क्रिय कर्जा घट्न पुगेको थियो । त्यस यताको समयमा भने ती समूहको निष्क्रिय कर्जामा निरन्तर वृद्धि भइरहेको छ । ग वर्गका बैंकिङ समूहमा रहेका फाइनान्स कम्पनीको औसत निष्क्रिय कर्जा भने पछिल्लो पाँच वर्ष यता निरन्तर वृद्धि भइरहेको तथ्यांकले देखाएको छ । 

नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार क, ख र ग वर्गका बैंकहरूको आव ०७७/७८ मा १.८४ प्रतिशत निष्क्रिय कर्जा थियो । सो कर्जा चालु आवको पुस मसान्तसम्म आइपुग्दा झण्डै दोब्बर अर्थात् ४.९२ प्रतिशत पुगेको छ । तथ्यांकअनुसार आव ०७७/७८ को पुस महिनामा वाणिज्य बैंक समूहको औसत निष्क्रिय कर्जा १.७१ प्रतिशत रहेकोमा चालु आवको पुस मसान्तसम्म ४.७३ प्रतिशत पुगेको छ ।

त्यस्तै, आव ०७७/७८ को पुस मसान्तसम्म विकास बैंक समूहको औसत निष्क्रिय कर्जा १.९३ प्रतिशत रहेको थियो । तर, चालु आवको पुस मसान्तसम्म सो समूहको निष्क्रिय कर्जामा वृद्धि भएर ५.११ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा फाइनान्स कम्पनी समूहको औसत निष्क्रिय कर्जा दोहोरो अंकमा अर्थात् १२.८५ प्रतिशत पुगेको छ । सो समूहको आव ०७७/७८ को पुस मसान्तसम्म ६.६४ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो ।

चालु आवको पुस मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये कुमारी बैंकको खराब कर्जा सबैभन्दा धेरै ६.९६ प्रतिशत र सबैभन्दा थोरै एभरेष्ट बैंकको ०.६६ प्रतिशत रहेको छ ।

ADV

सम्बन्धित खबर