-सञ्जु दाहाल
विगत २ दशकमा नेपालमा विभिन्न राजनीतिक उथलपुथल भए । अर्थ व्यवस्था र आर्थिक गतिविधि सुस्त भए । यही अवधिमा चीनमा केवल २ वटा सत्ता परिवर्तन भए तर आर्थिक विकासमा कुनै असर भएन । अर्थात्, आर्थिक नीतिमा चीन दृढ रह्यो ।
२१औं शताब्दीको कूटनीति नै आर्थिक विकास हो भन्ने तथ्य चीनले बुझेको छ तर नेपालले यो तथ्यलाई बुझ्नै सकेको छैन ।
विश्वलाई सहयोग गर्ने चीनको आर्थिक विकास उत्कृष्ट छ । तर, विश्वले सहयोग गर्ने नेपालको आर्थिक विकास हरिबिजोग छ । चीनले ३०–४० प्रतिशत आर्थिक वृद्धि गर्दा नेपाल ७–८ प्रतिशतमै खुम्चिएको छ । चीनले कसरी आर्थिक प्रगति गरेको छ र नेपालले कहाँ चुकेको छ ? यसको समीक्षा पनि जरुरी छ ।
हामी जंगली जनावर जस्तै चिच्याउँदै, दोष लगाउँदै, गा(लीगलौज गर्दै बस्ने कि अब प्रगतिको मार्ग पहिल्याउने ? चीनको आर्थिक विकास दर २ अंकको छ तर नेपालको अवस्था विगत २५ वर्षदेखि यही टिठलाग्दो छ । कोभिड– १९ को प्रभावले सन् २०२० सम्म ठूलो प्रभाव देखियो भने अन्य वर्षहरूमा निरन्तर विकास भइरहेको छ ।
चीन आज विश्वको १ नम्बर आर्थिक समृद्ध मुलुक भएको छ । आर्थिक विकासको दरमा चीनभन्दा लगभग झन्डै २०० वर्षपछि नेपाल रहेको छ । विश्व बैंकका अनुसार सन् २०२२ मा नेपालको प्रतिव्यक्ति आय १ हजार १९० अमेरिकी डलर थियो भने चीनको प्रतिव्यक्ति आय १२ हजार ७४० अमेरिकी डलर थियो । चीनको प्रतिव्यक्ति आय नेपालभन्दा करिब १० गुणा बढी छ ।
चीनको आर्थिक वृद्धिका कारणहरू
१. सन् २००१ मा चीनले विश्व व्यापार संगठनको सदस्यता प्राप्त गरेपछि अन्तर्राष्ट्रिय व्यापारमा व्यापक पहुँच पायो । यसले चीनलाई नयाँ बजारहरूमा प्रवेश गर्न र निर्यातलाई तीव्र रूपमा विस्तार गर्न सहयोग गर्यो ।
२. विशेष आर्थिक क्षेत्र जस्तै : सानजाई, सांघाई र ग्वाङ्झाओई सशक्त पारियो । यी क्षेत्रहरूले विदेशी लगानी, कर छुट र प्राविधिक ज्ञानलाई आकर्षित गरे । चीन आर्थिक क्षेत्र निर्माणमा लाग्यो ।
३. चीनले सस्तो र उच्च गुणस्तरीय उत्पादनमा ध्यान केन्द्रित गर्यो । इलेक्ट्रोनिक्स, वस्त्र र अन्य उपभोक्ता सामानहरू उत्पादन गर्दै विश्वव्यापी आपूर्ति शृंखलामा प्रमुख स्थान हासिल गर्यो ।
४. सन् २००० पछि चीनले अनुसन्धान तथा विकासमा ठूलो लगानी गर्यो । सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, जैविक प्रविधि र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा चीनले तीव्र प्रगति गर्यो ।
५. चीनले रेलमार्ग, राजमार्ग, बन्दरगाह, एयरपोर्ट र ऊर्जा पूर्वाधारमा भारी लगानी गर्यो । यसले व्यापार, यातायात र उद्योगलाई सशक्त बनायो ।
६. चीनले सस्तो श्रम र कुशल उत्पादन प्रणालीको उपयोग गर्दै विश्वभरको आपूर्ति शृंखलामा प्रभुत्व जमायो । धेरै बहुराष्ट्रिय कम्पनीहरूले चीनलाई उत्पादन केन्द्र बनाए ।
७. सन् २००० पछि चीनले केवल उत्पादनमा होइन, सेवा क्षेत्र, उच्च प्रविधि उद्योग र वित्तीय बजारमा पनि ध्यान केन्द्रित गर्यो ।
८. चीनले सौर्य प्यानल, विद्युतीय सवारी साधन र वायु ऊर्जामा ठूलो लगानी गर्यो । यसले नयाँ उद्योगहरू सिर्जना गर्दै आर्थिक वृद्धिलाई टेवा दियो ।
९. चीनलाई उच्च प्रविधि उत्पादन केन्द्र बनाउन प्रयास गरियो ।
१०. अन्तर्राष्ट्रिय व्यापार र लगानी विस्तार गर्ने रणनीति चीनले लियो, जसले चीनलाई विश्वव्यापी अर्थतन्त्रसँग गहिरो रूपमा जोड्न मद्धत गर्यो ।
११. चीनले आफ्नो ठूलो जनसंख्यालाई उत्पादनशील बनाउन शिक्षा र तालिममा ध्यान केन्द्रित गर्यो । सस्तो श्रमले चीनलाई विश्व बजारमा प्रतिस्पर्धात्मक बनायो ।
१२. चीनले आफ्नो मुद्रा युआनलाई अपेक्षाकृत स्थिर राख्दै निर्यातलाई सशक्त बनायो । साथै, ठूला सार्वजनिक निर्माण परियोजनाहरूमा सरकारको लगानीले आर्थिक वृद्धिलाई गति दियो ।
नेपालको आर्थिक वृद्धिका समस्या
१. नेपालले विगत २५ वर्षमा बारम्बार सरकार परिवर्तन, माओवादी सशस्त्र द्वन्द्व र संवैधानिक संकटहरू सामना गर्नुपर्यो । राजनीतिक अस्थिरताका कारण दीर्घकालीन विकास योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न असम्भव भयो । राजनीति सुधार नेपालको पहिलो आवश्यकता हो ।
२. नेपालमा यातायात, ऊर्जा र संचार जस्ता आधारभूत पूर्वाधारको विकास पर्याप्त छैन । कमजोर सडक संजाल, अनियमित विद्युत् आपूर्ति, सीमित औद्योगिक क्षेत्र आदिले गर्दा पनि आर्थिक विकासले गति लिन सकेन । सडक संजाल तथा औद्योगिक क्षेत्र निर्माण गर्न सरकारहरूले ठोस कदम चाल्न सकेनन् ।
३. नेपालको भौगोलिक संरचनाले यातायात र व्यापारलाई कठिन बनाएको छ । सीमित क्षेत्रहरू मात्र औद्योगिकीकरणका लागि उपयुक्त छन् ।
४. नेपालको निर्यात प्रायः कृषि उत्पादन र कच्चा मालमा निर्भर छ । प्रतिस्पर्धात्मक उत्पादनहरूको अभावका कारण निर्यात कमजोर छ र आयातमा निर्भरता उच्च छ ।
५. नेपालको ठूलो श्रमशक्ति विदेशमा रोजगारीमा निर्भर छ । रेमिट्यान्सले अर्थतन्त्रलाई चलायमान बनाए पनि दीर्घकालीन उत्पादनशीलतामा सुधार गर्न सकेको छैन ।
६. नेपालको कृषि क्षेत्रले कुल श्रम शक्तिको ठूलो हिस्सा ओगटे पनि आधुनिक प्रविधिको अभाव र साना जोतका कारण उत्पादनशीलता न्यून छ । त्यसैले कृषिको विकल्प खोज्नु जरुरी छ । यो कृषिले हुँदैन । भारतीय बिषादीयुक्त तरकारी, फलफूल रोक्ने समेत हाम्रो क्षमता छैन । स्वस्थ अग्र्यानिक राष्ट्र नेपाल घोषणा गर्न ढिला गर्नु हुन्न ।
७. नेपालले चीनको तुलनामा विदेशी लगानी आकर्षित गर्न सकेन । यसका कारणहरू भनेको कमजोर व्यापारिक वातावरण, राजनीतिक अस्थिरता र अपारदर्शी प्रशासनिक प्रक्रिया नै हुन् । नेपालमा आर्थिक नीति र योजना बारम्बार परिवर्तन हुँदा लगानीकर्ताहरू असुरक्षित महसुस गर्छन् ।
८. नेपालको शिक्षा प्रणालीले श्रम बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सकेको छैन ।
९. नेपालले घरेलु उद्योगहरूलाई विश्वव्यापी प्रतिस्पर्धामा लैजान पर्याप्त प्रविधि र नीति लागू गर्न सकेको छैन । कुनै योजना नै छैन ।
१०. विश्वकै दोस्रो ठूलो जलस्रोत भएको देश भएर पनि नेपालले जलविद्युत् उत्पादन र त्यसको निर्यातमा पर्याप्त प्रगति गर्न सकेन । स्रोत परिचालनसमेत गर्न सकेनन् ।
११. नेपालको धेरैजसो व्यापार भारतसँग निर्भर छ । वैकल्पिक व्यापार मार्ग र अन्तर्राष्ट्रिय बजारको पहुँचमा कमी छ । नेपालले चीनसँग सहकार्य नै गर्न सकेन ।
१२. नेपाल पर्यटनमा ठूलो सम्भावना भएको देश हो । तर, विज्ञापनको अभाव, कमजोर यातायात र सीमित पूर्वाधारका कारण यो क्षेत्रले पूर्ण क्षमता प्रयोग गर्न सकेको छैन ।
नेपालको आर्थिक सुस्तताका कारण मुख्यतः आन्तरिक अस्थिरता, कमजोर पूर्वाधार र सीमित औद्योगिकीकरणमा केन्द्रित देखिन्छन् । दीर्घकालीन र स्थिर आर्थिक नीतिहरू, पूर्वाधारको तीव्र विकास र अन्तर्राष्ट्रिय बजारसँग जोडिने प्रयासले मात्र नेपाललाई आर्थिक वृद्धिमा सशक्त बनाउन सक्छ । विकास निर्माणका काम समयमै सम्पन्न हुनुपर्छ ।