२०८२ साउन २० गते मङ्गलवार / Aug 05 , 2025 , Tuesday
२०८२ साउन २० गते मङ्गलवार
Ads

वैदेशिक रोजगारीका नाममा ८५ लाख ठगी

shivam cement
२०८१ माघ ४ गते ०६:२०
वैदेशिक रोजगारीका नाममा ८५ लाख ठगी

काठमाडौं : वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै १४ जनाबाट करिब ८५ लाख रुपैयाँ ठगी भएको छ । बेरोजगार युवा–युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै ठूलो रकम लिएर लामो समयसम्म झुक्याएर राखेर फरार भएका व्यक्तिहरूविरुद्ध परेको उजुरीमा उक्त रकम बराबर ठगी भएको देखिएको हो ।

प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत पठाउने भन्दै २ जनाबाट ६० लाख ८९ हजार लिएको उजुरीका आधारमा तनहुँ बन्दीपुरकी सन्जिता गुरुङ र यूएई पठाउने भन्दै ११ जनाबाट २४ लाख लिएको उजुरीका आधारमा तनहुँ भिमादका रेशमराज लामिछानेलाई पक्राउ गरेको छ । गुरुङ न्युरोड र लामिछाने बौद्धबाट पक्राउ परेका हुन् ।

सरकारले वैदेशिक रोजगारीमा जान अधिकांश देशका लागि १० हजार रुपैयाँ शुल्क तोकेको छ तर वैदेशिक रोजगार ठगीका उजुरी करोडमा देखिने गरेका छन् । संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गए ठगीमा परे वा विदेशमा तोकिएको तलब सुविधा नपाए वैदेशिक रोजगार विभागले तत्कालै ‘एक्सन’ लिएर पीडितको वास्तविक लागत उठाइदिने गरेको छ ।

हाल म्यानपावर कम्पनी संचालकहरू आफैं अग्रसर भएर वैदेशिक रोजगारीमा गएर फर्केका युवा–युवतीलाई क्षतिपूर्ति दिएर उजुरी सकेसम्म विभागमा दर्ता हुन नदिने प्रयास गरिरहेका छन् । तर, विभागमा व्यक्तिगत ठगीका उजुरी थपिँदा पीडितले पाउनुपर्ने रकम पनि दैनिक बढ्दै गएको छ ।

वैदेशिक रोजगारीका लागि यूएईसहित पोल्यान्ड, अमेरिका, क्यानाडा, कोरिया, सिंगापुर, इजरायल, चेक रिपब्लिक, नर्वे, पोर्चुगल, सर्बिया, अजरबैजानलगायतका देशमा पठाइदिने भन्दै नक्कली वर्क पर्मिटलगायत कागजातहरू देखाएर विश्वासमा पारी प्रोसेसिङ गरिदिने भन्दै  ठगी गर्ने गरिएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ ।

ठगी गर्नेहरूले प्रोसेसिङ भन्दै सुरुवातमै प्रतिव्यक्ति १ हजार डलर बराबरको रकम लिने र थप रकम नदिए पहिले दिएको रकम फिर्ता नहुने बताएर ट्र्यापमा पारेर रकम लिने गरेको प्रहरीले बताउने गरेको छ ।

वैदेशिक रोजगारीका नाममा शैक्षिक कन्सल्टेन्सी, ट्राभल्स एजेन्सीलगायतबाट निरन्तर ठगी भइरहेको वैदेशिक रोजगार व्यवसायी र प्रहरी दुवैको भनाइ छ । ठगीको घटना बढ्नुमा ह्वाट्सएप, इमो, म्यासेन्जर, टिकटक जस्ता सामाजिक संजालका अप्रमाणिक विज्ञापनका भरमा कहिल्यै चिनजान नभएको र दोस्रो पटक भेट हुने ग्यारेन्टीसमेत नभएका व्यक्तिलाई लाखौं रकम सुम्पने प्रवृत्ति देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले जनचेतनाको कमी र कतिपय अवस्थामा वैदेशिक रोजगारीमा जाने युवा–युवतीले अरूको सल्लाह र सुझाव नमान्ने प्रवृत्तिले पनि ठगी गर्नेहरूलाई मौका मिलिरहेको बताएको छ ।

ADV

सम्बन्धित खबर

Advertise