काठमाडौं : सिन्धु विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले पदभार ग्रहण गरेका छन् । शुक्रबार पुस २६ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच सिईओ देवकोटाले पदभार ग्रहण गरेका हुन् ।
बैंकको सञ्चालक समितिले देवकोटालाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । बैंकमा आयोजित पदभार ग्रहण कार्यक्रममा सीईओ देवकोटाले संस्थागत सुशासन र नियमाकीय अनुपालना आफ्नो पहिलो प्राथमिकता रहेको बताए । अहिलेको विषम परिस्थितिलाई चिर्दै आगामी दिनमा बैंकलाई एक सबल, सक्षम र उदाहरणीय बैंक बनाउने योजना रहेको पनि उनले सुनाए ।
बैंकिङ, वित्तीय क्षेत्र र पुँजीबजारमा विशेष दख्खल राख्ने देवकोटाको नेतृत्वमा सिन्धु विकास बैंकले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास सञ्चालक समितिले लिएको छ । देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनशास्त्रमा स्नातकोत्तर र कानुन विषयमा एलएलबी पनि गरेका छन् ।