२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

वीरगञ्ज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख

आबिद हुसेन
२०८१ असार ८ गते १५:२७
वीरगञ्ज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गरेको छ । शनिबार आयोजित १५औं नगर सभामार्फत महानगरले बजेट सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ६२ करोडले घटेर आएको छ । आगामी आर्थिक वर्षका लागि महानगरले २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा महानगरको बजेट संशोधितसहित ३ अर्ब ५१ करोड रहेको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा शुरु भएको नगर सभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख इम्तियाज आलमले चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का रहेको, संघीय सरकारको राजस्व असुलीमा आएको संकुचनका कारण राजस्व बाँटफाँट घट्न गएको, घर जग्गा कारोबारमा आएको मन्दीका कारण घरजग्गा रजिष्ट्रेशन आयस्रोत समेत घट्न जाँदा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनुपरेको बताए । यस्तै प्रदेश सरकारवाट सशर्त अनुदान र विशेष अनुदानको रुपमा थप अनुदान रकम प्राप्त हुन नसक्दा समग्रमा राजस्व परिचालन लक्ष्यअनुरुप नभएकाले पनि काम गर्न कठिनाइ भएको उनले बताए ।

चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा वीरगञ्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाउने गरी विषेश कार्यक्रम समेटिएको छ । नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ दुई अर्ब ४ करोड ६६ लाख अर्थात ७०.७ प्रतिशत छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।  

आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख, संघीय राजस्व बाँटफाँटबाट २६ करोड ८० लाख रहेको छ । त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजस्व बाँटफाँटबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।  

अधिवेशनमा महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर