रौतहट : रौतहटमा किसानका लागि अत्यावश्यक पर्ने रासायनिक मलमा कालोबजारी सुरु भएको छ ।
किसानलाई यतिखेर गहुँको बीउ छर्न मलखाद्यको आवश्यक्ता रहेको बेला जिल्लाको ग्रामीण क्षेत्रका बजारहरूमा युरिया र डिएपी मलको कालोबजारी बढेको छ ।
जिल्लाको माधवनारायण नगरपालिका, गढिमाई नगरपालिका सहित अधिकांश पालिकामा तोकिएको भन्दा बढी मूल्यमा रसायनिक मल बिक्री भइरहेको किसानहरूले बताएका छन् । तोकिएको भन्दा बढी मूल्यमा रसायनिक मल बिक्री हुँदा किसानहरू मर्कामा परेका छन् ।
माधोपुर लगायतका ग्रामिण बजारका केही व्यापारीले एक हजार रुपैयाँ पर्ने युरिया मल १२ सय देखि १४ सय सम्ममा बिक्री गरिरहेको किसानहरूले गुनासो गरेका छन् ।
त्यस्तै २ हजार ५०० पर्ने डिएपी ३ हजार ४ सयदेखि ३ हजार ५०० सममा बिक्री भइरहेको माधव नारायण नगरपालिका -६ माधोपुरका किसान किसुन राय यादवले बताएका छन् ।
किसानको मागअनुसार युरिया र डिएपि मल उपलब्ध हुन सकेको छैन तर कतिपय ब्यापारीले लुकिछिपी कालोबजारी गरिरहेको कारण आफूहरू मारमा परेको किसान यादवले दुखेसो गरे ।
सम्बन्धित निकाय वा जिल्ला प्रशासन कार्यालय रौतहटले बजार अनुगमन गरी मल कालोबजारी गर्नेलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग उनले गरे ।
आफूहरूले सरकारी दर रेटमा मलखाद्य पाउनुपर्ने उनले बताए । अधिकांश ग्रामीण भेगमा किसान पिडामा छन् तर स्थानीय जनप्रतिनिधीले उनीहरूका माग सम्बोधन नगरेको गुनासो आइरहेको छ ।
स्थानीय निकायले पनि किसानलाई सहज रूपमा मल उपलब्ध गराउन चासो नलिएको गुनासो बढेको छ । कतिपय स्थानीय सरकारबाट संघ संस्थाले किसानलाई सहज रुपमा मल उपलब्ध गराउन अनुदानमा पाएका मल किसानलाई नदिइ बिचौलियासँग बिक्री गर्ने गरेका छन् जसका कारण वास्तविक किसानले प्रर्याप्त मल पाउन सकिरहेका छैनन् ।
सरकारबाट विभिन्न कृषि सहकारी संघ संस्थाले अनुदानमा पाएका मलखाद्य किसानलाई नदिई बढी मूल्यमा व्यापारीसँग बेच्ने गरेका छन् । ती व्यापारीहरूले चर्को मूल्यमा किसानलाई मलखाद्य बेच्ने गरेका छन् जस कारण किसानहरू निकै मारमा परेका छन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मल र दैनिक उपभोग्य बस्तुको सामानमा कालोबजारी गरिएको पाईएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । तोकिएको भन्दा बढी मूल्यमा कसैले मल बिक्री गरेको पाइए प्रहरीलाई खबर गर्न सिडिओ रेग्मीले आग्रह गरे ।