रौतहट : रौतहटको माधवनारायण नगरपालिका मेयर बैजनाथ प्रसाद यादवले दश कोठे विद्यालय भवनको शिलान्यास गरेका छन् । नगर प्रमुख यादवले माधवनारायण नगरपालिका वडा नम्बर ८ रजवडामा रहेको प्राथमिक विद्यालयको दश कोठे भवनको शुक्रबार शिलान्यास गरेका हुन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत लाखौंको लागतमा सो भवन निर्माण हुने मेयर यादवले बताए । भवनको निर्माणको काम चाडै सम्पन्न हुने उनले जनाए ।
लामो समयदेखि त्यहाँ रहेको भवनको अभावका कारण विद्यार्थीहरुलाई पठन पाठन गर्न निकै कठिनाई हुँदै आएको अवस्थालाई मध्यनजर गरी विद्यालय भवनको शिलान्यास गरिएको मेयर यादवले बताए ।
तत्काललाई एक तले भवन निर्माण गरिने र पछि आवश्यकताको आधारमा त्यसमा एक तल्ला अझै थप गरी दुई तल्ले बनाउने उनले बताए । मेयर यादवले सो वडामा यसअघि वडा कार्यालय भवन र स्वास्थ्य चौकीको जीर्ण भवनलाई भत्काएर नयाँ भवन निर्माण गरिसकेका छन् ।
नगरको प्रत्येक वडामा शिक्षा, स्वास्थ्य कृषि र भौतिक पूर्वाधार निर्माण कार्यलाई प्राथमिकतामा राखेर आफूले काम गरिरहेको मेयर यादवले बताए ।