२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

डेनिलाले चुमिन् मिसेस नेपाल वर्ल्डको ताज

ADV
मध्यान्ह
२०८१ कार्तिक १४ गते १३:१७
डेनिलाले चुमिन् मिसेस नेपाल वर्ल्डको ताज

काठमाडौं : विवाहित महिलाहरुको प्रतियोगियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२४'को उपाधि डेनिला कार्कीले जितेकी छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित अन्तिम प्रतिस्पर्धामा बाँकी २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले सो उपाधि चुमेकी हुन् ।

कार्यक्रमकी मुख्य निर्णायक एवम् माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले फाइनलमा सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर डेनिलाले सो उपाधि हासिल गरेकी हुन् । उनले उपाधिसँगै एउटा स्कुटर, आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि हासिल गरेकी छन् ।

प्रतियोगितामा मिसेस नेपाल वर्ल्डमै फस्ट रनरअपको उपाधि एलिना घिमिरे, सेकेन्ड रनरअपको उपाधि किरण कार्की र थर्ड रनरअपको उपाधि अनु कार्कीले प्राप्त गरेका छन् । उनीहरुले पनि उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

यस्तै सोही समारोहमा मिसेस नेपाल इन्टरनेशनलको उपाधि सुयशा राउतले प्राप्त गरिन् भने एमएस नेपाल इन्टरनेशनलको उपाधि रेश्मा घिमिरेले हासिल गरिन् । यी दुई विजेताले चाँडै नै सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् । जसको फाइनलमा सारा तामाङ, निर्मला कार्की, रेश्मा घिमिरे र नानु सिंह पुगेका थिए ।

सोही समारोहमा नेपालकी अग्रज हास्य अभिनेत्री बसन्धुरा भुसाललाई विगत ६ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान दिएको भन्दै मिसेस नेपाल वर्ल्ड मानार्थ सम्मान २०२४ बाट सम्मान गरिएको थियो । माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, अफिसियल कोरियोग्राफर अश्विनी कान्त झालगायतले भुसाललाई कार्यक्रममा सम्मान अर्पण गरेका थिए ।

मानार्थ सम्मानअघि बसुन्धरा भुसालको सम्मानमा उनका आधा दर्जन गीतहरुमा नृत्य प्रस्तुत गरिएको थियो । भुसालको सम्मानमा डान्स फिवरबाट अभिनेता गजित बिष्ट र उनका टिमले भुसालका चर्चित चलचित्रका गीतहरुमा नृत्य प्रस्तुत गरे । मिसेस नेपाल वर्ल्ड मानार्थ सम्मानबाट सम्मानित भएकोमा खुसी व्यक्त गर्दै उनले यो उपाधिले नेपाली चलचित्र क्षेत्रमा आउँदा दिनमा अझ धेरै काम गर्न आफूलाई प्रेरित गरेको बताइन् ।

विभिन्न सांगीतिक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा विभिन्न शीर्षकमा उपाधि पनि प्रदान गरिएको थियो । जसमा माया लामाले पब्लिक च्वाइस र फेसबुक च्वाइसहितको उपाधि, नानु सिंहले भिवर्स च्वाइस, मोष्ट ट्यालेन्ट, मल्टीमिडिया च्वाइस, अनु कार्कीले बेस्ट हेयर, सारा तामाङले हेल्दी स्किन, सुयसा राउतले बेष्ट र्‍याम्प वाक, नेहा कर्णले बेष्ट स्माइल, अम्बिका गौतमले मस्ट डिसिप्लेन, एलिना घिमिरेले मिसेस कन्जिनियालिटी, किरण कार्कीले ब्युटी विथ कम्पासन, सिर्जना ब्यन्जनकारले बेष्ट पर्सनालिटी, सृष्टी अर्यालले बेष्ट फिजिक, सिमरन कार्कीले फेशन आइकन, सुसिला केसी दाहालले मोष्ट क्रियटिभ, सिर्जना श्रेष्ठले बेष्ट स्प्रिचुअल डान्स, सहारा तिमल्सिना अर्यालले फोटोजेनिक र प्रगति श्रेष्ठले म्यानेजमेन्ट च्वाइस उपाधि प्राप्त गरे ।

प्रतियोगिताको मुख्य निर्णायकमा अनुराधा कोइराला, निर्णायकमा टेलिभिजनकर्मी भाष्कारराज राजकर्णिकार, अभिनेता धिरेन शाक्य, हास्य अभिनेता केदार प्रसाद घिमिरे, अधिवक्ता जेनिश पहारी, अभिनेत्री उषा रजक, श्रीकेश तेलका अध्यक्ष टिकाराम बुढाथोकीलगायत थिए ।

सेसेमी लिम्बूले सञ्चालन गरेको सो ग्रान्ड फिनाले समारोहमा सञ्चारकर्मी ऋषी धमलाले यो उपाधिले नेपाली महिलाहरुलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्लेटफर्मसम्म पुर्‍याउँदै उनीहरुको व्यक्तित्व विकासमा निरन्तर योगदान दिने धारणा राखे ।

कार्यक्रममा गायक आर्जन पाण्डेले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय तुल्याएका थिए । प्रतियोगितालाई अश्विनी कान्त झाले कोरियोग्राफी, ऐना गजुरेलले सहकोरियोग्राफी, रानी खरेल र सम्राट शाहले संयोजन तथा गंगा महर्जनले व्यवस्थापन गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise