२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

कतारमा शान्ता रानीले ‘ढलें ढलें’ गाउँदै मच्चाइन् तहल्का

shivam cement
मध्यान्ह
२०८१ कार्तिक ११ गते २०:५५
कतारमा शान्ता रानीले ‘ढलें ढलें’ गाउँदै मच्चाइन् तहल्का

दोहा, कतार : चर्चित लोक तथा दोहोरी गायिका शान्ता रानी परियारले कतारमा उधुम मच्चाएकी छन् । गुल्मी सेवा समाज कतारले नेपालीहरूको विशेष चाडपर्वहरू बडा दशैं, शुभ दीपावली तथा छठको अवसर पारेर संस्थाको आकस्मिक कोष अभिवृद्धि सहयोगार्थ आयोजित बृहत् सांस्कृतिक कार्यक्रममा उनले उधुम मच्चाएकी हुन् । 

शुक्रबार अलत्तियामा रहेको फूलबारी रेस्टुरेन्टको सभा हलमा आफ्नो चर्चित पञ्चेबाजा गीत ‘शिर फूल शिरको’ गीत गाउँदै स्टेज चढेकी उनले उनको पछिल्लो हिट गीत ‘ढलें ढलें’ गाउँदा उनीसँगै हल स्वरमा स्वर मिलाउँदै झुमेको थियो । खचाखच भरिभराउ हलमा दर्शकले उनलाई ‘ढलें ढलें म’ गीतमा यसरी साथ दिए कि सबै एकमुष्ट गीतमा ढलेका थिए ।

आफूलाई कतारसम्म निमन्त्रणा गर्ने आयोजक टिमप्रति आभार व्यक्त गर्दै नेपालबाट लिएर आएको ढाका टोपी आयोजक टिमलाई लगाइदिएर सम्मान व्यक्त गरेकी उनले निरन्तर आधा दर्जन गीतहरू गाएर उधुम मच्चाएकी थिइन् । परियारसँगै कतारमा रहेका करिब एक दर्जन कलाकारहरूले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए भने साहित्यकार तथा सर्जक सानु थपलियाले आफ्ना रचना वाचन गरेका थिए । 

समाजका कार्यवाहक अध्यक्ष सुरज चन्द बोहराको सभापतित्व तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले उद्घाटन सत्रमा गराइने आसन ग्रहणलाई कतारका संस्थाले न्यूनीकरणको आवश्यकता औंल्याए । उनले कार्यक्रमका अन्तमा समय अपुग हुँदा समापनमा हतारो हुने गरेकोप्रति सचेत हुन आग्रह गर्दै भव्य कार्यक्रमको आयोजना गरेकोमा समाजलाई बधाई दिएका थिए ।  

कार्यक्रममा तमु (गुरुङ) समाज कतारले माइती चेलीको सम्बन्ध अझै प्रगाढ बनोस् भन्दै तिहारको कोसेलीसहित समाजका सम्पूर्ण पदाधिकारीहरूलाई ढाका टोपीले सम्मान व्यक्त गरेको थियो । कार्यक्रमको समापन गर्दै सभापति बोहराले कार्यक्रम सभ्य र भव्य सफल बनाउन खट्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । समाजका सचिव दर्शन सुनार र सहसचिव कुमार राहादी मगरले मिलेर सहजीकरण गरेको कार्यक्रमको अन्त्यमा सांगीतिक प्रस्तुति दिने सबै कलाकारहरूलाई पारिश्रमिक र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise