२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी

Nada
२०८१ असोज ७ गते १६:५६
Shares
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी

सप्तरीः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हुने बताएका छन् । 

ncell

सप्तरीको राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा आज जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको छलफलका क्रममा मन्त्री चौधरीले आवश्यक भौतिक पूर्वाधार निर्माणकै क्रममा रहेकाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि घोषित मितिमा हुन नसक्ने बताए । 

‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिरमा सञ्चालन गर्ने तय गरेका थियौँ, पूर्वाधार निर्माण गर्ने क्रम चलिरहेकाले प्रतियोगिता अब अगामी फागुनमा सञ्चालन गछौँ’, उनले भने । उक्त प्रतियोगिताको तयारीमा जुट्न मन्त्री चौधरीले खेलाडीहरुलाई आग्रह गरे । कर्णाली प्रदेशमा मङ्सिर, पुस र माघ महिनामा  अत्यधिक जाडो हुने भएकाले उक्त प्रतियोगिता फागुन महिनामा गर्ने मन्त्रालयले योजना बनाएको उनले स्पष्ट पारे ।

‘चिसोको समयमा बसोबासको समेत समस्या हुन्छ, यसलाई ध्यानमा राख्दै फागुनमा चिसो कम हुने भएकाले त्यही बेला राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएका छौँ’, मन्त्री चौधरीले भने । अहिलेकै अवस्थामा सो प्रतियोगिता गर्ने अवस्था नरहेको उनको भनाइ थियो । यस अघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरमा आयोजना गर्ने घोषण गरेको थियो । 

सो अवसरमा मन्त्री चौधरीले जनताको चाहना अनुसार सरकारी कार्यालयमा काम काज गर्न कर्मचारीहरुलाई निर्देशन दिए । कर्मचारीहरुलाई उनले भने, ‘तपाईहरु समयमै आफनो कार्यालयमा आइदिनुस् र जनताको काम काज गरेर जानुस् ।’ आफ्नो दायित्व निभाएर छिटोछरितो ढङ्गले काम गर्न उनले कर्मचारीहरुलाई निर्देशन दिए ।

सम्बन्धित खबर