काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले मनोमानि ढंगले सचिवालय गठन गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । नेता रावलले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आफ्नो लिखित सुझाव पेस गर्दै मनोमानी तरिकाले सचिवालय गठन गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यशैलीमाथि धेरै प्रश्न गर्ने ठाउँ भएको भन्दै उनले थप समय उपलब्ध गराइए सम्पूर्ण फेहरिस्त दिन तयार रहेको बताए । बैठकमा हरेक स्थायी समिति सदस्यलाई धारणा राख्नका लागि २० मिनेट समयको उपलब्ध गराइएको थियो । तर सो समयले अपुग हुने भन्दै रावलले थप समय माग गरेका हुन् ।
बैठकमा सहभागी एक स्थायी समितिका सदस्यले रावलको भनाइ उद्धृत गर्दै भने, 'सरकारमा कसलाई ल्याउने, कसलाई नल्याउने भनेर पार्टीमा छलफल हुनुपर्दैन ? सरकार सञ्चालक दलाल पुँजीपति वर्गको दबाबमा छ । समय भए यसको फेहरिस्त दिन तयार छु ।' अध्यक्षद्वयको प्रतिवेदन राजनीतिक नभएको टिप्पणी गरेका उनले बैठकमा ३५ बुँदे लिखित सुझाव सहितको प्रतिवेदन नै पेश गरेका छन् ।
‘संविधान संशोधनको कुरा नेतृत्वले गरेका छन्, त्यो हो भने बैठकमा एजेन्डा बनाएर छलफल गरिनुपर्छ । के आवश्यकता छन्, के छैनन् । एसिया प्यासिफिक समिटले देशको शिर निहुर्याएको छ । यसमा आत्माआलोचना हुनुपर्छ । यसलाई बैठकमा एजेन्डा बनाइयोस्,’ बैठकमा रावलले भने ।
रावलको भनाइ उद्धृत गर्दै ती सदस्यले थपे, ‘बामेदव गौतमले पेश गर्नुभएका सुझाव राम्रा छन्, त्यसलाई समावेश गरिनुपर्छ । सरकारको गम्भीर समीक्षा होस्, त्यसलाई छुट्टै कार्यसूची बनाइयोस् ।’ त्यस्तै नेता रावलले राष्ट्रियता, साङ्गठनिक, सरकार सञ्चालन लगायतका कुरालाई छुट्टै एजेन्डा बनाएर यही बैठकमा निर्णय गरिनुपर्ने बताएका छन् ।
आजको बैठकमा केशव बडाल, भीम रावल, योगेश भट्टराई, सोमनाथ प्यासी, सत्यनारायण मण्डल, टोपबहादुर रायमाझी, शङ्कर पोखरेल, पृथ्वी सुब्बा गुरुङले पनि अध्यक्षद्वयले पेश गरेको प्रतिवेदनमा प्रश्नै प्रश्न गरेका छन् । यसअघि सोमबारको बैठकमा नेता बामदेव गौतम, घनश्याम भुषाललगायतले प्रतिवेदनमाथि आलोचनात्मक टिप्पणी गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies