२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रमाणबिनाका उजुरी नलिन विभागलाई एशोसिएसनको ध्यानाकर्षण

Nada
२०८१ भदौ २८ गते ०६:३०
Shares
प्रमाणबिनाका उजुरी नलिन विभागलाई एशोसिएसनको ध्यानाकर्षण

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले बिनाआधार र बिनाप्रमाणका उजुरीहरू दर्ता नगर्न वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीको ध्यानाकर्षण गराएको छ ।

ncell

एशोसिएसनको तर्फबाट बिहीबार बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने क्रममा उक्त माग गरिएको एशोसिएसनका महासचिव महेश कुमार बस्नेतले मध्यान्हलाई बताए । जवाफमा महानिर्देशक खत्रीले वैदेशिक रोजगार प्रशासनलाई सुधार गर्न आफूले वैदेशिक रोजगार व्यवसायीसँग हातेमालो गर्ने भएकाले बिनाआधारका उजुरी दर्ता र व्यवसायीलाई हैरानी हुने वातावरण बन्न नदिने आश्वासन दिएका छन् ।

महासचिव बस्नेतले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा संस्थाका  नाममा बिनाआधार र बिना प्रमाणका उजुरीहरू दर्ता गर्ने गरिएकाले व्यवसायीहरु माझ गम्भीर चिन्ता उत्पन्न गराएको भन्दै व्यवसायीहरूको हित, संरक्षण र उनीहरूको अधिकारलाई कदर गर्न पनि महानिर्देशक खत्रीको गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिए ।

नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका वैदेशिक रोजगार व्यवसायीहरूलाई आवश्यक नीतिगत सहजीकरण र कानूनी संरक्षण प्रदान गर्नु अतिआवश्यक रहेकोे भन्दै एशोसिएसनले बिनाआधार र प्रमाणका उजुरीहरू दर्ता गरिँदा गलत नियत भएका अनधिकृत व्यक्तिहरुले त्यसलाई व्यक्तिगत लाभका लागि दुरुपयोग गरी वास्तविक समस्यामा रहने श्रमिक तथा पीडितहरूको न्याय नपाउने अवस्था उत्पन्न हुने बताएको छ । महानिर्देशक खत्रीलाई दिएको पत्रमा एशोसिएसनले विभागमा पछिल्ला दिनमा केहि सञ्चारकर्मी, सामाजिक अभियन्ता वा अन्य तेस्रो पक्षका नातेदारका नाममा विभागमा प्रवेश गरेर उजुरी दर्ता गरिरहेको गुनासो बढेको बताएको छ ।

चाडपर्व नजिकिँदै गर्दा त्यस्ता उजुरीहरू बढ्ने र व्यवसायीहरूलाई मानसिक तनावका साथै आर्थिक नोक्सानी पनि पु¥याइरहेको एशोसिएसनको भनाइ छ । त्यस्ता समस्यालाई रोक्न अनधिकृत व्यक्तिहरुको पहिचान गर्न परिचय पत्र, पीडितहरुसँगको सम्बन्ध एकिन तथा अनिवार्य गर्नुपर्ने भन्दै एशोसिएसनले उजुरी दर्ता गर्नुअघि अनिवार्यरूपमा मेलमिलापको प्रक्रियालाई अघि बढाउन आग्रह गरेको छ ।

बिनाप्रमाण उजुरी दर्ता गर्दा विशेषगरी व्यक्तिगत लेनदेन र अन्य विभिन्न प्रकारका कारोबारलाई समेत वैदेशिक रोजगारीको आवरण दिने गरिएको भन्दै एशोसिएसनले इजाजतवाला संस्थाहरुका विरुद्धमा उजुरीहरू दर्ता गर्नुअघि प्रमाणको आधार अनिवार्य बनाउन सकिएमात्रै वैदेशिक रोजगारका सन्दर्भमा श्रमिकहरुको वास्तविक समस्याको निष्पक्ष समाधानलाई सुनिश्चित गर्न र व्यवसायीहरुलाई समेत कानूनी सुरक्षा प्रदान गर्न मद्दत पुर्‍याउने बताएको छ । 

त्यस्तै एशोसिएसनले अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाउन र जुनसुकै प्रकारको उजुरी दर्ता गर्नका लागि परिचय पत्र अनिवार्य बनाउन पनि माग गरेको छ । एशोसिएसनका उपाध्यक्ष विनोदजंग केसीको नेतृत्वमा गएको व्यवसायी टोलीमा एशोसिएसन कार्यसमिति पदाधिकारी तथा सदस्य र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कर्णराज कटुवाललगायतको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर