२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

माओवादीको अवरोधपछि प्रतिनिधि सभा बैठक भदौ ३० गतेसम्म स्थगित

Nada
२०८१ भदौ २६ गते १४:४१
Shares
माओवादीको अवरोधपछि प्रतिनिधि सभा बैठक भदौ ३० गतेसम्म स्थगित

काठमाडौँ : नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ । 

ncell

सभामुख देवराज घिमिरेले १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माअ‍ोवादी केन्द्रले संसद अवरोध गरेको थियो ।

सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताएका थिए । त्यसपछि एमाले सांसद रघुजी पन्तले बोल्ने पालो पाए । उनले माओवादीकै नेताहरूले संसदमा धेरै पटक हिंसा शब्द प्रयोग गर्ने गरेको बताए । यसपछि माओवादी र एमाले सांसदहरूबीच वादविवाद भएको थियो ।

सांसद पन्तले बोलेपछि माओवादी सांसद माधव सापकोटाले पनि यो बिषयमा बोल्न समय मागेका थिए । सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरू सिटबाट उठेर संसद अवरोध गरेका हुन् ।

अबरोधकै बावजुद पनि सभामुखले सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिए । पौडेलले विगतलाई बल्झाएर शान्ति प्रक्रिया बिथोल्न खोजेको भन्दै आपत्ति जनाए । संविधानसँग प्रतिकूल हुने शब्दको प्रयोगले राजनीतिक आन्दोलनको अवहेलना हुने उनको भनाइ छ ।

सभामुखले पुनः माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई नै बोल्न समय दिए । उनले सभामुखले योगेश भट्टराईको भाषणबाट हिंसा शब्द नहटाउने निर्णय पूर्वाग्रही रहेको बताए । त्यसपछि बोलेका एमाले सांसद महेश बर्तौलाले सभामुखले गरेको निर्णय सबैले मान्नुपर्ने बताए । बैठक चलिरहँदा माओवादी सांसदहरुले संसद अवरोध गरिरहे ।

सभामुखले बैठक सञ्चालनमा लागि सहयोग गर्न पटक पटक आग्रह गरेपनि यसबारे संसदमा बहस हुनुपर्ने माओवादीको अडान राखिरह्यो । त्यसपछि सभामुखले अर्को बैठक भदौ ३० गते बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरे ।

‘सभा सञ्चालन गर्न सहयोग गर्नु भएन । त्यसले गर्दा कार्यसूचीमा रहेका बाँकी सबै कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराउँछु,’ उनले भने, ‘अब अर्को बैठक भदौ ३० गते आइतबार दिनको एक बजे बस्ने गरी स्थगित हुन्छ।’ 

ताजा खबर

सम्बन्धित खबर