२०८२ भदौ ५ गते बिहिवार / Aug 21 , 2025 , Thursday
२०८२ भदौ ५ गते बिहिवार
Ads

वाम एकताको विपक्षमा एमाले

shivam cement
जानकी पाठक
२०८१ भदौ २० गते ०६:५०
वाम एकताको विपक्षमा एमाले

काठमाडौं : नेकपा एमालेले समाजवादी मोर्चा र वाम एकताको पहलकदमीमा नअलमलिने सन्देश दिएको छ । बुधबार केन्द्रीय कार्यालयमा सम्पन्न पोलिटब्यूरो बैठक मार्फत् एमालेले मोर्चा र वाम एकताको विपक्षमा रहेको सन्देश दिएको हो । 

‘समाजवादी मोर्चा र वाम एकता जस्ता कुराको पक्षमा हामी छैनौं । निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न जुट्नेछौ’ प्रवक्ता राजेन्द्र गौतमले भने । उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै शक्तिसँग मोर्चा र एकताको पक्षमा नरहेको बताएका हुन् । 

‘प्रचण्डले समाजवादी मोर्चामा आवद्ध हुनुपर्छ भन्ने प्रस्ताव गरेका थिए, मैले अस्वीकार गरेँ’ ओलीले बैठकमा भनेका थिए, ‘प्रचण्डको त्यो प्रस्तावमा धोकाको संकेत थियो ।’ कतिपय पार्टीकै नेताहरुले पनि समाजवादी मोर्चामा आवद्ध हुने कुरालाई वाम एकताको आधार भनेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत वाम एकता गर्ने दीर्घकालीन योजना अन्तर्गत एमालेसँग सत्ता सहकार्य गर्ने निर्णय लिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । 

तर एमाले र माओवादी सहितको सत्ता सहकार्य गत १७ असारमा कांग्रेस र एमालेबीच भएको सहमतिले टुट्यो । त्यसबेला मोर्चामा आवद्ध नहुने आफ्नो निर्णय विवेकपूर्ण रहेको ओलीले बताएका छन् । ‘समाजवादी मोर्चा भनेर प्रचण्डले धोका दिने थिए, मैले त्यही बुझेर अस्वीकार गरेको हुँ । वाम एकता सुन्दा प्रिय लागेपनि यसको अन्तर्य सही छैन’, ओलीको भनाइ उदृत गर्दै एक पोलिटब्यूरो सदस्यले भने । 

कांग्रेसले समेत एक्लै चुनाव लड्ने निर्णय गरिसकेको सन्दर्भमा एमालेले पनि कसैसँग चुनावी तालमेल नगर्ने निर्णय गरेर जानुपर्ने नेताहरुले बताएका थिए । यसलाई कतिपयले सत्ता गठबन्धन जोगाउने नीति पनि भनेका छन् । 

तर एमालेले भने गत चुनाव पनि एक्लै लडेकाले आगामी चुनाव २०८४ मा पनि कसैसँग गठबन्धन नगर्ने निर्णयलाई स्वभाविक भनेको छ । ‘हामीले विगतमा पनि एक्लै चुनाव लडेका हौं, अब पनि गठबन्धन गर्दैनौं भन्नेमा प्रष्ट छौ’ पोलिटब्यूरो सदस्य विशाल भट्टराईले भने ।

भट्टराईका अनुसार पोलिटब्यूरो बैठकबाट महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको वार्षिक कार्ययोजना पारित भएको छ । यो प्रस्ताव केन्द्रीय समितिबाट पारित भएपछि एमालेले कार्यान्वयनमा लैजानेछ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise