२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कार्यालय प्रमुखसहित चार कर्मचारी नभएपछि कार्यसम्पादनमा समस्या

Nada
२०८१ भदौ १३ गते १०:५१
Shares
कार्यालय प्रमुखसहित चार कर्मचारी नभएपछि कार्यसम्पादनमा समस्या

बागलुङ : बागलुङको सामाजिक विकास कार्यालय आठ महिनादेखि कार्यालय प्रमुखविहीन छ । यस कार्यालयमा प्रमुखसहित चार जनाको पद रिक्त छ । प्रमुख तथा योजना प्रमुख नै नहुँदा कार्यालय सञ्चालनमै समस्या आएको छ । 

ncell

कार्यालय प्रमुखसहित नौ जनाको दरबन्दी रहेको कार्यालयमा हाल चार जनाको पद खाली हुँदा कार्यसम्पादनमा समस्या भएको निमित्त कार्यालय प्रमुख कृष्णहरि शर्माले बताए । नौ जनाको दरबन्दीमा रहेको कार्यालयमा हाल दुई जना कार्यालय सहयोगी र फाँट सञ्चालन गर्ने तीन जना कर्मचारी मात्रै रहेकाले समस्या भएको उनको भनाइ छ । 

“कार्यालयले गत आर्थिक वर्षमा ६१ योजना सम्पन्न गरेको थियो । चालु आवका लागि एक सय ४२ योजना छनोट गरिएका छन् । तीन जना कर्मचारीले कसरी काम गर्नु”, शर्माले भने,“प्रशासन, लेखा र एक प्राविधिक मात्रै हुँदा योजना कार्यान्वयनमा समस्या छ, बिदा बस्दा कार्यालय सञ्चालनमै समस्या हुन्छ, एउटा प्राविधिकले एक सय ४२ योजनाको इस्टमेट, अनुगमन गर्नलाई कहिले भ्याइन्छ रु त्यसैमा कार्यालयमा चार पाङ्ग्रे सवारीसाधन पनि छैन ।”

कार्यरत प्राविधिक कर्मचारी पनि करारमा नियुक्त गरिएका हुन् । यहाँ आठ महिनादेखि कार्यालय प्रमुखसहित चार जनाको दरबन्दी रिक्त भएका हुन् । “बागलुङका १० वटै पालिकामा चालु आवका लागि एक सय ४२ योजना रहेकोमा एउटा योजनामा कम्तीमा तीन पटक कर्मचारी पुग्नुपर्ने हुन्छ”, निमित्त प्रमुख शर्माले भने, “योजना दुर्गममा छन्, चारपाङ्ग्रे सवारीसाधन नहुँदा मोटरसाइकलमा यात्रा गर्दा कठिन छ, कार्यालय प्रमुखका लागि पटक–पटक गण्डकी प्रदेशमा माग गर्दै आए पनि हालसम्म खटाइएको छैन ।”

यसवर्ष एक सय ४२ योजनाका लागि रु आठ करोड बजेट छुट्याइएको छ  ।  योजना न्यूनतम रु पाँच लाखदेखि अधिकतम रु १६ लाखसम्मका छन् । त्यसमा विद्यालय मर्मत, कक्षाकोठा निर्माण, तारबार, मर्मत सम्भार, मन्दिर जीर्णोद्वार, पुनः निर्माण तथा संरक्षण, खेल मैदान व्यवस्थापनलगायतका योजना छन् । 

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जिल्ला प्रशासनले समन्वय गरे पनि समस्या समाधान हुन नसकेको बताए ।  “ कर्मचारी नपठाउँदा सामाजिक विकास कार्यालयको काम ठप्प हुने अवस्था आउने विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको छ, अब गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले कर्मचारी पठाउन आवश्यक छ”, उनले भने ।

ताजा खबर

सम्बन्धित खबर