२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

Nada
२०८१ भदौ ६ गते १४:५४
Shares
दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं : भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेका जलवायु परिवर्तनको असरलगायत विविध साझा समस्याको अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गरेकी छन् । 

ncell

आज नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट गर्न पुगेका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवालसँग उनले संयुक्तरुपमा अनुसन्धान गरी समस्या समाधानका उपाय सुझाउन आग्रह गरेकी हुन् ।

अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा राणाले भनिन्, “जलवायु परिवर्तन अहिले यस क्षेत्रको प्रमुख समस्या भएको छ । दक्षिण एसियाली क्षेत्रका अन्य कैयौँ साझा समस्या छन् । ती समस्याको समाधान गर्न यस विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञहरुले संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउँदा प्रभावकारी कार्यान्वयनमा सहजता हुनेछ ।”

भेटमा विश्वविद्यालयका अध्यक्ष प्रा अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै यसअन्तर्गत नेपालमा क्याम्पस स्थापना गर्न प्रस्ताव गरे । उक्त विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था छ ।  

नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नाका साथै विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय वार्ता गरेकी थिइन् । मन्त्री डा राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा विजय चौथाइवालेले पनि भेट गरेका थिए । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा राणा आज अपराह्न स्वदेश फकँदै छिन् ।

ताजा खबर

सम्बन्धित खबर