२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

कर्णाली प्रदेश सरकारद्वारा ६ करोड राहत रकम उपलब्ध

Nada
२०८१ भदौ ४ गते ११:०६
Shares
कर्णाली प्रदेश सरकारद्वारा ६ करोड राहत रकम उपलब्ध

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई रु. छ करोड बराबरको राहत रकम उपलब्ध गएको छ । विसं २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म तीन सय ४४ पीडित परिवारलाई प्रदेश सरकारले सामूहिक बिमाबापत रु छ करोड ८८ लाख राहतस्वरूप उपलब्ध गराएको हो ।

ncell

पहिलो चरणमा विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका ५९ जनाका परिवारलाई बिमाबापत रु. एक करोड १८ लाख रकम प्रदान गरिएको थियो । प्रतिव्यक्ति रु. दुई लाखका दरले दोस्रो चरणमा ४७ जनालाई रु. ९४ लाख, तेस्रो चरणमा ६६ जनालाई रु. एक करोड ३२ लाख र चौथो चरणमा एक सय ७२ जनालाई रु. तीन करोड ४४ लाख बीमा रकम प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । उक्त रकम राष्ट्रिय बीमा कम्पनीमार्फत उपलब्ध गराइएको हो ।

मन्त्रालयले आव २०८०/८१ को साउनदेखि असार मसान्तसम्म भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागीजस्ता प्राकृतिक विपद्बाट मृत्यु भएका एक सय ७१ जनाका परिवारलाई रु. तीन करोड ४२ लाख भुक्तानी गरेको छ । विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका एक सय ५१ व्यक्तिका परिवारलाई रु दुई लाखका दरले रु तीन करोड बीमामार्फत भुक्तानी गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिए। 

उनका अनुसार कागजी प्रक्रिया नमिलेका कारण जाजरकोट भूकम्पबाट मृत्यु भएका तीन जनाको रकम भुक्तानी प्रक्रियामा रहेको छ । त्यसैगरी गत वर्ष भूकम्पबाहेक अन्य विपद्मा परी मृत्यु भएका २० जनाका परिवारलाई रु. ४० लाख बीमामार्फत भुक्तानी गरिएको छ । कर्णालीका १७ लाख व्यक्तिको विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर