
क्वालालम्पुर : मलेसियाको राजधानी क्वालालम्पुरमा आफ्नै प्रेमिकाको हत्या गरेको अभियोगमा ४४ वर्षीय नेपाली सुरक्षा गार्ड बलबहादुर तामाङविरुद्ध स्थानीय मजिस्ट्रेट अदालतमा मुद्दा दर्ता भएको छ ।
गत महिना क्वालालम्पुरको जालान हाङ कस्तुरीस्थित एक होटलको कोठामा २४ वर्षीया नेपाली युवती सन्ध्या तामाङको हत्या गरेको अभियोगमा उनी अदालतमा उपस्थित भएका हुन् । मृतक सन्ध्या मलेसियामा कारखानामा श्रमिकका रूपमा कार्यरत थिइन् ।
बलबहादुरलाई डाङ वाङ्गी प्रहरी मुख्यालयस्थित आपराधिक अनुसन्धान विभागबाट कडा प्रहरी सुरक्षाबीच अदालत परिसरमा ल्याइएको थियो । अदालतमा उनलाई मलय भाषामा अभियोगपत्र पढेर सुनाइएको थियो । उनले मजिस्ट्रेट फाएजाहनुर हसनसमक्ष आफूले अभियोग बुझेको बताएका थिए ।
अभियोगअनुसार बलबहादुरले गत अक्टोबर ९ गते राति १० बजेर ४६ मिनेटदेखि अक्टोबर १० गते दिउँसो २ बजेर ३४ मिनेटको बीचमा जालान हाङ कस्तूरीस्थित होटलको कोठामा सन्ध्याको हत्या गरेको आरोप छ ।
मलेसियाको दण्ड संहिताको धारा ३०२ अन्तर्गत उनीमाथि हत्या अभियोग लगाइएको हो । उक्त कसुर प्रमाणित भएमा मृत्युदण्ड वा ३० देखि ४० वर्षसम्मको जेल सजाय तथा कम्तीमा १२ कोर्रा हान्ने सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
अदालतमा हतकडीसहित उपस्थित भएका बलबहादुरलाई अभियोग सुनाइए पनि हत्या मुद्दा उच्च अदालतको क्षेत्राधिकारमा पर्ने भएकाले उनीबाट औपचारिक रूपमा दोषी वा निर्दोष भएको बयान लिइएन ।
सरकारी अभियोजनकर्ता अमृतप्रीत कौर रन्धावाले उक्त अपराध धरौटीमा छुट्न नमिल्ने प्रकृतिको भएकाले धरौटी प्रस्ताव नगरेको बताइएको छ । अदालतले पनि उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ ।
मृतकको पोस्टमार्टम, विषविज्ञान परीक्षण, रासायनिक परीक्षणलगायत सम्बन्धित प्रतिवेदन अद्यावधिक गर्न अदालतले आगामी जनवरी १९ का लागि अर्को सुनुवाइको मिति तोकेको छ ।