२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

चाडबाड लक्षित सुरक्षामा रौतहट प्रहरीको विशेष तयारी : झन्डै ९ सय प्रहरी परिचालन गरिने

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज २३ गते २०:५४
Shares
चाडबाड लक्षित सुरक्षामा रौतहट प्रहरीको विशेष तयारी : झन्डै ९ सय प्रहरी परिचालन गरिने

रौतहट : बडादसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय रौतहटले एकीकृत एवं विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । पर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि, चोरी, ठगी, अवैध कारोबार तथा सवारी दुर्घटना नियन्त्रण गरी जिल्लावासीलाई शान्तिपूर्ण वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन ८९७ जना प्रहरी जनशक्ति परिचालन गरिने भएको छ ।

ncell

​जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले पत्रकार सम्मेलनमार्फत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा व्यवस्थापन, नियमित गस्ती, प्रविधिको प्रयोग र सीमावर्ती क्षेत्रको निगरानीलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

​चाडपर्वको समयमा बजारमा बढ्ने भिडभाड, आर्थिक कारोबारमा वृद्धि, यात्रुको चाप र नेपाल–भारत सीमावर्ती क्षेत्रका संवेदनशील गतिविधिलाई ध्यानमा राखी प्रहरी टोली परिचालन गरिने एसपी रिजालले बताए ।

एसपी रिजालका अनुसार ​जिल्लाका ३४ स्थानमा पिकेट १० स्थानमा पैदल गस्ती तथा संवेदनशील क्षेत्रहरूमा १४ वटा मोबाइल गस्ती टोली २४ सै घण्टा तैनाथ रहनेछन् भने 
​सर्वसाधारण तथा भारतबाट घर फर्किने नागरिकको सहज आवागमनका लागि जिल्लाका ५ प्रमुख स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

यस्तै भिडभाड हुने बजार, मेला तथा धार्मिक स्थलहरूमा ड्रोन क्यामेरा र सीसीसीटीभी  मार्फत निगरानी गरिने छ भने बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र व्यापारिक केन्द्रहरूमा चोरी तथा लुटपाट नियन्त्रण गर्न सादा पोसाकका प्रहरी टोली खटाइने भएको छ । भारतसँग जोडिएका सीमानाकामा पटाका तथा अवैध सामग्री ओसारपसार रोक्न तालिमप्राप्त कुकुरसहितको चेकिङ सञ्चालन गरिने छ ।

​मादक पदार्थ सेवन गरी सवारी चलाउने तीव्र गति र क्षमताभन्दा बढी यात्रु बोक्ने नियन्त्रण गर्न १० स्थानमा संयुक्त ट्राफिक चेकिङ गरिने तथा सामाजिक सञ्जालमार्फत फैलन सक्ने भ्रामक र उत्तेजनात्मक सूचनामाथि कडा निगरानी राखिने एसपी रिजालले बताए ।

पत्रकार सम्मेलनमा एसपी रिजालले चालु आर्थिक वर्षको असोज २० गतेसम्म भएका प्रमुख कार्यसम्पादनको तथ्यांक प्रस्तुत गरेका थिए । उनले सम्पूर्ण जिल्लावासीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै पर्वलाई सभ्य, मर्यादित र अनुशासित रूपमा मनाउन अपिल गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर