
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्थानीय तहको निर्वाचनपछि राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीले वडा र पालिका अधिवेशनको मितिसमेत निर्धारण गरेको छ ।
शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले पुस ११ गते देशभर एकैदिन वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार माघ १५ गते पालिका अधिवेशन गर्ने निर्णय भएको छ । बैठकले स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला र प्रदेश अधिवेशन तथा राष्ट्रिय महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।
यसअघि नेकपाले मंसिर ११ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर निर्धारित कार्यतालिका अनुसार काम अघि बढ्न नसकेपछि पार्टीले महाधिवेशनको समय परिवर्तन गरेको हो ।