
पोखरा : पोखरा महानगरपालिका वडा नं. २८ माझठानामा विद्यार्थी बोकेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन पोखरा महानगरपालिकाले ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
शुक्रबार बिहान ट्युसन पढ्न जाँदै गरेका विद्यार्थी बोकेको बस कालिकास्थित ओख्लेको भिरबाट खस्दा ५ जनाले ज्यान गुमाएका छन् । बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए । घटनालगत्तै उद्धार कार्य सुरु गरिए पनि ५ जनालाई बचाउन नसकिएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।
दुर्घटनाको कारण पहिचान गर्न महानगरले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा मेकानिकल इन्जिनियर, महानगर शिक्षा समितिका सदस्य, नगर प्रहरी निरीक्षक र ट्राफिक सहायक निरीक्षक सदस्य रहेका छन् ।
उक्त समितिलाई ५ दिनभित्र घटनाको विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । मेयर आचार्यले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।
यसअघि पनि विद्यालयका सवारीसाधनको सुरक्षा मापदण्डका विषयमा महानगरले कडाइ गरेको भएपनि पुनः दुर्घटना हुनुले चुनौती थपेको छ ।
विद्यालयका बसहरूमा अनिवार्य सुरक्षा मापदण्ड, नियमित जाँच र पहेँलो रङको मापदण्डको पालना भए–नभएको विषयमा अब थप कडाइ गरिने मेयर आचार्यले बताए । प्रतिवेदन प्राप्त भएपछि दोषीउपर कडा कारबाही प्रक्रिया अघि बढाउने महानगरको तयारी छ ।