
काठमाडौँ : सन् २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गरिने भएको छ ।
स्विडेनको शाही विज्ञान प्रतिष्ठानले दक्षिण ध्रुवमा रहेको आइसक्यूब न्युट्रिनो वेधशाला निर्माणमा योगदान तथा अन्तरिक्षबाट आउने उच्च ऊर्जायुक्त न्युट्रिनो कण पत्ता लगाउने अनुसन्धानका लागि उनलाई पुरस्कार दिने निर्णय गरेको हो ।
विस्कन्सिन-म्याडिसन विश्वविद्यालयका वैज्ञानिक हाल्जेनले दक्षिण ध्रुवको गहिरो बरफलाई न्युट्रिनो पत्ता लगाउने माध्यमका रूपमा प्रयोग गर्ने अवधारणा अघि सारेका थिए । यही अवधारणाका आधारमा सन् २०११ मा करिब एक घन किलोमिटर बरफभित्र आइसक्यूब वेधशाला निर्माण सम्पन्न भएको हो ।
आइसक्यूबको अनुसन्धानले ब्रह्माण्डका अत्यन्त ऊर्जावान् तथा टाढाका घटनाबारे अध्ययन गर्न नयाँ बाटो खोल्दै न्युट्रिनो खगोलशास्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । पुरस्कारसँगै हाल्जेनले १ करोड २० लाख स्विडिस क्रोनर प्राप्त गर्नेछन् ।