२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

गोप्य सूचना चुहाउनेलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन’

Nada
२०८३ असोज २० गते ११:०८
Shares
गोप्य सूचना चुहाउनेलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायमा रहेका कर्मचारी र पदाधिकारीले पदीय पहुँचको दुरुपयोग गर्दै गोप्य तथा संवेदनशील सूचना बाहिर चुहाउने गरेको विषय आफूले लामो समयदेखि नियालिरहेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायसम्म पुर्‍याउने जोसुकैलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका हुन्।

ncell

गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो पदीय हैसियतअनुसार प्राप्त सूचनाको दुरुपयोग गर्न नहुने उनको भनाइ छ। ‘राज्यको संवेदनशिल सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन।’

गुरुङले सुरक्षा निकाय तथा गृह प्रशासनबाट प्राप्त हुने सामान्य देखिने सूचना पनि अपराध नियन्त्रण र अनुसन्धानका लागि महत्वपूर्ण हुनसक्ने उल्लेख गरेका छन्। उनका अनुसार कुनै सुराक वा गोप्य जानकारीले भविष्यमा हुनसक्ने गम्भीर घटनाको वास्तविकता पत्ता लगाउनसमेत निर्णायक भूमिका खेल्न सक्छ। ‘यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ।’

गोप्य सूचना संरक्षणलाई राज्य र संगठनप्रतिको जिम्मेवारीसँग जोड्दै गृहमन्त्रीले जानाजान सूचनाको दुरुपयोग गर्नेलाई उन्मुक्ति नदिने स्पष्ट पारेका छन्। ‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठन माथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ।’

गृहमन्त्रीको यो अभिव्यक्ति गृह प्रशासनभित्रबाट संवेदनशील सूचना अनधिकृत रूपमा बाहिरिने विषयप्रति मन्त्रालय गम्भीर रहेको संकेतका रूपमा आएको छ। यद्यपि उनले कुन घटना, सूचना वा व्यक्तिलाई लक्षित गरेर यस्तो चेतावनी दिएको भन्ने खुलाएका छैनन्।

ताजा खबर

सम्बन्धित खबर