२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

शैक्षिक क्षेत्रका व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान

Nada
२०८३ असोज १९ गते २०:१९
Shares
शैक्षिक क्षेत्रका व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान

काठमाडौं : शिक्षा पत्रकार समूहको २७औं साधारणसभा तथा १३औं अधिवेशनका अवसरमा आज शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

ncell

कार्यक्रममा गत भदौ १० गतेको भोटेकोशी बाढीका क्रममा विद्यार्थीलाई सुरक्षित राख्न सफल नुवाकोटको त्रिशूली त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी, शिक्षा पत्रकार समूहका संस्थापक अध्यक्ष राजन शर्मा, नवप्रवर्तनात्मक कार्यका लागि रानीवारी माध्यमिक विद्यालयकी विद्यार्थी बेबिसा मगराती तथा संस्थागततर्फ सेभ द चिल्ड्रेनलाई सम्मान गरिएको हो । संस्थापक शर्मालाई दिइएको शिक्षा पत्रकारिता पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले ती सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । यसैगरी शिक्षासेवी सम्मान जिलेशन साहलाई प्रदान गरियो ।  कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिले शैक्षिक रूपान्तरण र सुधारका लागि सरकार तथा सरोकारवालाबीच निरन्तर संवादको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।

शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले शिक्षा क्षेत्रका समस्या, नीति तथा सुधारका विषयलाई तथ्यपरक रूपमा सार्वजनिक बहसमा ल्याउन शिक्षा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । नेपाल शिक्षक महासंघका अध्यक्ष सुन्दर पन्तले सरकारले आफूहरूले राखेका मागबारे छलफल गर्न वार्तामा बोलाउन माग गरे । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई)का अध्यक्ष लवराज ओलीले शैक्षिक रूपान्तरणका लागि शिक्षा पत्रकारको सहकार्य आवश्यक रहेको बताए । 

प्याब्सनका उपाध्यक्ष दीपिका थापा रिमालले  निजी क्षेत्रमको भूमिका उल्लेखनीय रहेकोे विचार प्रकट गरे ।

ताजा खबर

सम्बन्धित खबर