२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

गुजराको इँटा भट्टामा अलपत्र परेका ४२ भारतीय नागरिकको प्रहरीद्वारा उद्धार

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज १९ गते १४:१६
Shares
गुजराको इँटा भट्टामा अलपत्र परेका ४२ भारतीय नागरिकको प्रहरीद्वारा उद्धार

रौतहट : ​रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित मदिना इँटा भट्टामा अलपत्र परेका ४२ जना भारतीय श्रमिक तथा उनीहरूका आश्रित बालबालिकालाई प्रहरीले सकुशल उद्धार गरी भारततर्फ पठाएको छ ।

ncell

​भारतीय ठेकेदारको विश्वासमा परेर रोजगारीका लागि नेपाल आएका १२ पुरुष, ११ महिला, १० बालक र ९ बालिका गरी कुल ४२ जना भारतीय नागरिक अलपत्र परेका थिए । उनीहरूलाई काममा लगाउने र खाने-बस्ने व्यवस्था मिलाउने भन्दै ल्याएका भारतीय ठेकेदार नै एकाएक सम्पर्कविहीन भएपछि श्रमिकहरू समस्यामा परेका थिए ।

​अलपत्र परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनास्थल पुगेर उनीहरूको उद्धार गरेको हो ।

​जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वसन्त गौतमका अनुसार आइतबार दिउँसो करिब साढे २ बजे श्रमिकहरू अलपत्र परेको खबर पाएपछि प्रहरी टोली तत्काल परिचालन गरिएको थियो । घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूलाई सीमापारिबाट ल्याउने ठेकेदार भागेको र उनीहरू खानपिन तथा बासस्थानको अभावमा समस्यामा परेको पुष्टि भएको थियो ।

​आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सोही दिन साँझ करिब ५ बजे ना.७ ख १६७५ नम्बरको बस रिजर्भ गरेर उनीहरूलाई गौर भन्सारतर्फ पठाइएको डिएसपी गौतमले जानकारी दिए ।

​गौर भन्सार सुरक्षा गार्ड रौतहटको समन्वयमा उद्धार गरिएका सबै भारतीय नागरिकलाई सीमापारि भारतीय सुरक्षा बल अन्तर्गत एएचटियू २० बटालियन एफ कम्पनी, बैरगनिया प्रहरी टोलीको जिम्मा लगाइएको छ । प्रहरीको यो शीघ्र तत्परताका कारण अलपत्र परेका बालबालिका र महिलासहितका श्रमिकहरू सुरक्षित रूपमा आफ्नो देश फर्कन सफल भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर