
काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै थापाले आफूहरूले बीपी र गणेशमानको राजनीतिक विरासतलाई बोकेको बताए।
‘हाम्रो आत्मा त्यही बीपी कोइरालाकै हो, त्यही गणेशमान कै हो । बीपी कोइरालाका छोरा कहाँ हुनुहुन्छ, गणेशमानका छोरा कहाँ हुनुहुन्छ मलाई थाहा छैन तर आत्मा यहाँ छ । त्यो मलाई थाहा छ । आत्मा त्यही हो साथीहरू । हाम्रो शैली बदल्नुपर्नेछ, हाम्रो भाषण बदल्नुपर्नेछ,’ सभापति थापाले भने ।
थापाले मुलुकले भोगिरहेका समस्या तत्कालै कुनै एक व्यक्ति वा नेतृत्व परिवर्तनबाट समाधान हुने खालका नरहेको बताए। उनले नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थालाई अन्तर्राष्ट्रिय परिस्थितिसँग समेत जोडेर हेर्नुपर्ने धारणा राखे।
‘हाम्रो समस्याहरूलाई हल्का ढंगले– फेरि हिजो कसैले गर्दै गरेन, आज म आएको छु, छु मन्तर जसरी हल हुन्छ भनेर समस्याको हल पनि हुँदैन,’ उनले भने, ‘नेपालको समस्या नेपालको कारणले मात्रै पनि छैन । विश्व राजनीतिले हामीलाई कसरी गाँजेको छ हामीले हेर्नुपर्दैन ?’
थापाले महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवाको उपस्थितिका लागि कुर्सी खाली राखिएको भए पनि उनी कार्यक्रममा नआएको बताए। देउवालाई लिन पार्टीका नेताहरू कति पटक जाने र कसरी जाने भन्ने प्रश्नसमेत उनले उठाए।
‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ । तर आउनुभएन । कति पटक जाने हो, लिन कसरी जाने हो ?’ थापाले भने, 'तपाईंले गाउँगाउँ गएर भन्दिनुहोला कि शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिएको थियो ।'
उनले पार्टीबाट अलग भएका केही नेताका सम्बन्धमा कांग्रेसले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए। पार्टी छाडेर गएका नेताहरूले कांग्रेस छाडेका हुन् वा कांग्रेसले उनीहरूलाई छाडेको हो भन्ने प्रश्नको जवाफ दिनुपर्ने उनको भनाइ थियो।
‘केही साथीहरू छोडेर जानुभएको छ । उहाँहरूलाई कांग्रेसले छाडेको हो । यो पनि हामीले भन्नुपर्ने छ । यसको उत्तर अब दिनुपर्छ,’ थापाले भने ।
थापाको सम्बोधनमा कांग्रेसको विगत, वर्तमान नेतृत्व र आगामी राजनीतिक दिशाबारे समीक्षा गर्नुपर्ने सन्देश देखिन्थ्यो। उनले पार्टीको पुरानो विरासतलाई कायम राख्दै समयअनुकूल शैली र राजनीतिक प्रस्तुति बदल्नुपर्नेमा जोड दिए।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा सम्पन्न भएको छ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए। महाधिवेशनसँगै कांग्रेसले नयाँ राजनीतिक दिशा र संगठनात्मक प्राथमिकताबारे बहस अघि बढाउने तयारी गरेको छ।