
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै प्रचण्डले राजनीतिक जीवनमा आफूले पटक–पटक ‘क्रमभंग’ गर्दै आएको स्मरण गरे। अब नयाँ ढंगको राजनीतिक पहल गर्ने जिम्मेवारी गगन थापा र रवि लामिछानेको काँधमा आएको उनको भनाइ थियो।
प्रचण्डले आफूले विगतमा जस्तै फेरि क्रमभंग गर्न चाहेर पनि सहज अवस्था नरहेको बताए। नयाँ पुस्ताका नेताहरूले अब राजनीतिमा नयाँ अभ्यास र परिवर्तनको सुरुवात गर्नुपर्ने उनको संकेत थियो।
कांग्रेस सभापति थापाप्रति सकारात्मक धारणा राख्दै प्रचण्डले उनले आगामी दिनमा मुलुकको नेतृत्व गर्ने अपेक्षा आफूले गरेको बताए। राजनीतिक परिवर्तनको नयाँ चरणमा युवा नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा प्रचण्डले अहिले कम्युनिस्ट शक्तिहरू कमजोर अवस्थामा रहेकाले आफूले धेरै ठूला राजनीतिक दाबी नगर्ने बताए। यद्यपि आफ्नो नेतृत्वमा बनेका मन्त्रिपरिषद्का धेरै सदस्य कांग्रेस महाधिवेशनको मञ्चमा देखिएको उल्लेख गर्दै उनले उनीहरूप्रति आफू सकारात्मक रहेको सन्देश दिए।
आफ्नो राजनीतिक यात्रामा सहकार्य गरेका नेताहरू अहिले फरक राजनीतिक भूमिकामा रहे पनि उनीहरूप्रति आफ्नो आत्मीयता कायमै रहेको प्रचण्डको भनाइ थियो।