२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

बाबाको बारीमा बेलपत्र अनि ओठमा लोकगीत : चितवनमा थारू महिलाको जितिया रौनक (तस्बिरहरू)

Nada
२०८३ असोज १८ गते १६:१६
Shares
बाबाको बारीमा बेलपत्र अनि ओठमा लोकगीत : चितवनमा थारू महिलाको जितिया रौनक (तस्बिरहरू)

निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

ncell

चितवन : चितवनको कालिका नगरपालिका-५ मा रहेको भीमवली पार्क आज बिहानैदेखि थारू संस्कृति र लोकभाकाले गुञ्जायमान थियो। बाँसको डलिया बोकेर परम्परागत थारू पोसाकमा सजिएका महिलाहरू समूहबद्ध भई गीत गाउँदै पार्कको बेलको रुखतिर अघि बढिरहँदा जितिया पर्वको अद्भूत रौनक छाएको देखिन्थ्यो। "नेपालका अन्य दिदीबहिनीहरूले तीज मनाएजस्तै हामी  थारू दिदीबहिनीहरूका लागि पनि जितिया एकदमै महान् चाड हो," भीमवली थारू महिला समूहकी अध्यक्ष बाल्कूमरी महतोले जितियाको महत्त्वबारे भनिन्,, "विवाहित दिदीबहिनीहरूले छोराछोरीको दीर्घायु र राम्रो भविष्यका लागि यो व्रत बस्छन् भने अविवाहितहरूले राम्रो पढाइ, असल घरपरिवार र राम्रो वर पाइयोस् भनेर जितबाहन भगवानको पूजा गर्छन्।"

May be an image of martial arts, flute and text

पार्कतिर पाइला बढाउँदै गर्दा थारू महिलाहरूका ओठबाट पोखिएका  थारू लोकभाकाहरू गीत मात्र थिएनन्, तिनमा पुर्खाको ज्ञान र सामाजिक सम्बन्धको मीठो प्रसङ्ग समेटिएको थियो। बाटोमा हिँड्दै गाउने गीतलाई थारू भाषामा 'डग्रोट' भनिन्छ, जसमा नन्द र भाउजू मिलेर एउटै मतका साथ धार्मिक भजन सुन्न र बेलपत्र टिप्न जाने कथा हुन्छ। पार्क पुगेर बेलको रुखमुनि उभिएपछि महिलाहरूले 'बाबाको बारी'को गीत गाउन थाले। वर्षदिनको पर्वमा भोकभोकै उपवास बसेका छोरीहरू हातमा अंकुसी र डाली बोकेर बाबाको बारीमा आइपुगेको र फुलबारीमा पस्ने बाटो सोधेको दृश्य सो गीतमा पोखिन्छ। "बाबाले छोरीहरूलाई पूर्वतिर फुलबारी र पश्चिमतिर बाटो छ भन्दै बेलपत्र टिप्ने पाँचवटा कली (नियम) सिकाउनुहुन्छ," अध्यक्ष महतोले गीतको अन्तर्य खोल्दै भन्छिन्,, "पहिलो कली बेलपत्र पृथ्वी माता (धिमा स्वाप) लाई, दोस्रो आकाशलाई, तेस्रो सूर्य नारायणलाई अर्पण गरी चौथो कली आफ्नै हृदयमा लगाएपछि मात्र पाँचौँ कली डालीमा भरिन्छ।" यसरी पाँचै कलीको अनुशासित नियम पूरा गरी डाली भरेपछि मात्र महिलाहरू आफ्नो निवासतर्फ फर्किन्छन्।

May be an image of one or more people, people dancing and text

जितियाको अनुष्ठान तीन दिनसम्म निकै कडा धार्मिक निष्ठाका साथ पूरा गरिन्छ। पर्वको पहिलो दिन सप्तमीमा दर खाइन्छ, जसलाई थारू भाषामा 'डटकट' भनिन्छ। दोस्रो दिन बिहान नुहाइधुवाइ गरी व्रत बसेर बेलपत्र सङ्कलन गरिन्छ र नदीमा पुगेर 'जरहरी' मनाइन्छ। नदीमा नुहाएर बर्मथानमा जल चढाइसकेपछि पिपलको हाँगा ल्याएर विष्णु भगवानको रूपमा जितबाहनको स्थापना गरिन्छ। सोही हाँगामा चिल ('चिल्लो') लाई माथि र स्याल ('सिएरो') लाई तल स्थापना गरी जितबाहनको कथा सुन्ने गरिन्छ। "कथा सुनिसकेपछि विवाहित महिलाहरू दिनभरि जलसमेत नपिई कडा निर्जला व्रत बस्छन्," महतो भन्छिन्,, "अविवाहित युवतीहरूले भने कथा सुनिसकेपछि दही, दूध र फलफूल खाएर फलाहार गर्छन्।"

May be an image of one or more people, people performing martial arts, people dancing and text

व्रतको तेस्रो दिन नवमीका दिन बिहान जितबाहन र चिलो-सिएरोलाई नदीमा विसर्जन गरी माटोको 'गौरगाङ्ग' बनाइन्छ र सिन्दूर-काजल लगाएर पूजा गरिन्छ। त्यसपछि अघिल्ला दिनहरूमा उमारेर राखिएको मासको दाल अर्थात् 'जाकुरी'ले गौरगाङ्गलाई ढाक्ने गरिन्छ। जितियामा जाकुरीको विशेष धार्मिक महत्त्व छ। "जसले एकदम इमानदार भएर भित्रै दिलदेखि निर्जला व्रत बसेको हुन्छ, उसको जाकुरी एकदमै धेरै र राम्रोसँग उम्रिन्छ," महतोले जितियाको विश्वासबारे भनिन्,, "यदि कसैले देखावटीका लागि मात्र व्रत बसेको छ भने जाकुरी राम्रोसँग उम्रिँदैन।" यस पर्वले मानिसलाई मनमा झूट नबोल्न, शुद्ध खानपान गर्न र भित्रै दिलदेखि पवित्र भई भक्ति गर्न प्रेरणा दिन्छ।

May be an image of one or more people and text

पुराना दिनहरू सम्झँदै बाल्कूमरी महतोका आँखामा मौलिकताको सम्झना छल्कियो। पहिले-पहिले दर खाने दिनभन्दा एक महिना अघिदेखि नै गाउँघरमा महिलाहरू भेला भएर थपडी मार्दै 'झम्टा' नाच्ने र खुसी साट्ने गर्दथे। दर खाइसकेपछि बिहान सूर्य उदाउञ्जेलसम्म निरन्तर सामूहिक रूपमा 'बधावा' गीत गाइन्थ्यो। तर पछिल्लो समय आधुनिकतासँगै पुराना मौलिक भाका र सामूहिक रौनक लोप हुँदै गएकामा  चिन्ता व्यक्त गर्छिन् ।। "यो हाम्रो मौलिक पर्व र पहिचान हो, जसलाई जोगाउनु एकदमै आवश्यक छ," उनी अपिल गर्छिन् , "हामी थारू दिदीबहिनीहरू देश-विदेश जहाँ भए पनि आफ्नो संस्कृतिलाई जोगाउन र जगेर्ना गर्न एकजुट हुनुपर्छ।"

May be an image of one or more people and text

No photo description available.

May be an image of one or more people, people smiling and text

May be an image of one or more people, people smiling and text

May be an image of one or more people, people dancing and text

May be an image of one or more people and text

May be an image of child, tree and text

May be an image of one or more people, flute and text

ताजा खबर

सम्बन्धित खबर