
नेपालगन्ज : विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी जागरण फैलाउने उद्देश्यले आयोजित तेस्रो गौघाट ग्रीन रनको उपाधि विशाल बोहरा र आयुष्मा सिंहले जितेका छन् ।
शनिबार खजुराको सितापुर गौघाटमा भएको गौघाट ग्रीन रनमा छात्र ६ किलोमिटरतर्फ शुक्र माविका विशाल प्रथम हुँदा जनसेवा माविका उपेन्द्र बम दोस्रो र जनसेवाकै निशान्त विक तेस्रो भए । त्यसैगरी, ३ किलोमिटर छात्रातर्फ जनता माविकी आयुष्मा पहिलो हुँदा जनता माविकी कविता क्षेत्री दोस्रो र जनसेवा माविकी मेलिसा घर्ती तेस्रो भए ।
किड्स रन (१२ वर्षमुनि) छात्रतर्फ योगिनी माविका शिव विक, जनसेवा माविका शिशिर सुनार र योगिनी माविका समीर सार्की शीर्ष तीन स्थानमा आए । त्यस्तै, छात्रातर्फ जनसेवा माविकी सिम्रन दमाई, नेरा प्रावि गुराँसपुरकी वर्षा चन्द ठकुरी र योगिनी माविकी करुणा चनारा पहिलो, दोस्रो र तेस्रो भए ।

कार्यक्रममा योगिनी माविलाई बेस्ट पार्टिसिपेसन अवार्ड तथा शुक्र माविलाई फास्टेस्ट रजिस्ट्रेसन अवार्ड प्रदान गरियो । योगिनीले १९२ जना सहभागी गराएर यो अवार्ड प्राप्त गरेको हो भने शुक्रले सबैभन्दा पहिले ७५ जना दर्ता गरेको हुँदा फास्टेस्ट रजिस्ट्रेसन अवार्ड प्रदान गरिएको थियो ।
तीन किलोमिटर दौड पूरा गरेकोमा ८५ वर्षीय शोकबहादुर खत्री र ८० वर्षीय धनबहादुर महतारालाई विशेष सम्मान गरियो । त्यस्तै, फरक क्षमता भएका (सुस्त श्रवण) मध्ये ६ जनाले पनि दौड पूरा गरेका थिए ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रत्न खत्री, खजुरा गाउँपालिका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष धनराम ओली, विश्वकीर्तिमानी धावक हरिबहादुर रोकाय र केएल दुगड ग्रुपका सीईओ प्रदीप छाजेडले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

खजुरा गाउँपालिका वडा नं. २ सँगको सहकार्यमा सात सय जना दौड पूरा गर्ने सबैलाई ताइवानी अम्बाको बिरुवा वितरण गरिएको थियो । दौड पूरा गर्ने सबैलाई पदक वितरण गरिएको थियो ।
हरेक विधाका शीर्ष १२ जनालाई मंसिर ५ गते हुने १२औँ धारा नेपालगन्ज म्याराथनमा स्वतः सहभागी गराइने धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए । एक वर्षमा सबैभन्दा राम्रोसँग बिरुवा हुर्काउने १० जनालाई आयोजकले विशेष ढंगले पुरस्कृत गर्ने जनाएको छ ।

यसले विद्यार्थी, शिक्षक र अभिभावकलाई थप उत्साहित बनाएको लुम्बिनी प्रदेश खेलकुद परिषद्का संस्थापक सदस्यसचिव भीम ओलीले बताए ।
हरेक वर्ष असोजको पहिलो हप्ता गौघाट ग्रीन रन आयोजना गरिनेछ। धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा गौघाट ग्रीन रन हुँदै आएको छ । गौघाट ग्रीन रनमा रोटरी क्लब अफ बाँके, एम्स, खजुरा वडा नं. २, प्रज्ञालय, गोपाल नीना फाउन्डेसन र योगिनी युवा क्लबको सहकार्य रहेको छ ।