
क्वालालम्पुर : नेपालमा गत अगस्टमा आएको विनाशकारी बाढी तथा पहिरोपछि सम्पर्कविहीन भएका ५५ मलेसियाली नागरिकमध्ये एकजना ३७ दिनपछि सकुशल फेला परेका छन् । ती व्यक्ति मलेसियाली दूतावास, काठमाडौंमा आफैं सम्पर्कमा पुगेपछि सुरक्षित रहेको पुष्टि भएको हो ।
मलेसियाली सञ्चारमाध्यमका अनुसार, ‘मलेसिया सोलिडारिटी : फेमिलिज इन होप’ (मासफिह) का प्रवक्ता डा. मनिभन्नन रेथिनमले ती व्यक्ति अक्टोबर १ मा काठमाडौंस्थित मलेसियाली दूतावास पुगेको र त्यसपछि मलेसिया फर्किएको जानकारी दिएका छन्। उनी अक्टोबर २ को बिहान सुरक्षित रूपमा मलेसिया पुगेका थिए ।
रेथिनमका अनुसार, उक्त घटनाबारे मलेसियाको परराष्ट्र मन्त्रालयले बेपत्ता व्यक्तिका निकट आफन्त सदस्य रहेको ‘केएलएन–एनओके’ ह्वाट्सएप समूहमा जानकारी गराएको थियो। ती व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।
“ती व्यक्ति एक्लै यात्रा गरिरहेका थिए र सुरुमा सम्पर्कविहीन भएका ५५ मलेसियालीमध्ये सुरक्षित रहेको पुष्टि हुने उनी एक मात्र एकल यात्री हुन्,” रेथिनमलाई उद्धृत गर्दै ‘बर्नामा’ले जनाएको छ ।
परिवारबाट प्राप्त विवरणअनुसार, ती व्यक्ति अगस्ट २५ मा दिउँसो ३ः२६ बजे नागथली भ्यु–पोइन्टमा रहेको बताइएको छ । त्यसको भोलिपल्ट अर्थात् अगस्ट २६ मा उक्त क्षेत्रमा विनाशकारी बाढी आएको थियो ।
बाढीपछि सडक तथा पुलहरूमा क्षति पुगेको, विद्युत् र अन्य आधारभूत सेवा अवरुद्ध भएको तथा सञ्चार सम्पर्कसमेत प्रभावित भएका कारण उनी केही समय नागथली क्षेत्रमा अलपत्र परेको बताइएको छ । अन्ततः उनी काठमाडौंस्थित मलेसियाली दूतावाससम्म पुग्न सफल भएका थिए ।
३७ दिनपछि परिवारसँग पुनर्मिलन भएको घटनालाई मासफिहले राहतको खबरका रूपमा लिएको छ ।
“३७ दिनको अनिश्चिततापछि एउटा परिवारले आफ्नो प्रियजनलाई पुनः स्वागत गर्न पाएको छ। यो परिवारको खुसी अझै प्रतीक्षामा रहेका अन्य परिवारले पनि महसुस गरेका छन्,” मासफिहले आफ्नो विज्ञप्तिमा भनेको छ ।
संगठनले एक व्यक्ति लामो समयसम्म सम्पर्कविहीन अवस्थामा रहेर पनि सुरक्षित फेला पर्न सफल भएको घटनाले बाँकी ५४ मलेसियालीको अवस्थाबारे आशा कायम राख्न सकिने जनाएको छ ।
यससँगै नेपालमा अझै सम्पर्कविहीन रहेका मलेसियाली नागरिकको संख्या ५५ बाट घटेर ५४ पुगेको छ। मलेसियाली अधिकारी तथा पीडित परिवारले बाँकी व्यक्तिहरूको अवस्थाबारे थप जानकारी प्राप्त गर्न निरन्तर पहल गरिरहेका छन् ।
यसअघि मलेसियाको परराष्ट्र मन्त्रालयले नेपालमा आएको बाढीपछि ५५ मलेसियाली नागरिकसँग सम्पर्क स्थापित हुन नसकेको जनाएको थियो । प्रभावित क्षेत्रमा सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा भएको क्षतिले उद्धार तथा खोजी कार्यमा समेत कठिनाइ उत्पन्न भएको मन्त्रालयले जनाएको थियो ।
नेपालमा भएको विपद्पछि बेपत्ता मलेसियालीका परिवारले सरकारी तहबाट खोजी, उद्धार तथा कानुनी प्रक्रियालाई तीव्र बनाउन माग गर्दै आएका छन् । हाल एकजना सकुशल फर्किए पनि बाँकी ५४ जनाको अवस्थाबारे परिवारहरू अझै अनिश्चिततामा छन् ।