२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

आजदेखि जितिया पर्व सुरु, नहाय–खाय गरी विधिपूर्वक मनाइँदै

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज १६ गते ११:५०
Shares
आजदेखि जितिया पर्व सुरु, नहाय–खाय गरी विधिपूर्वक मनाइँदै

रौतहट : सन्तानको दीर्घायु, निरोगिता, पुत्रप्राप्ति तथा पारिवारिक सुख–शान्तिको कामनासहित मनाइने मधेश क्षेत्रको प्रसिद्ध एवं पवित्र जितिया पर्व रौतहटसहित समग्र मधेशमा आज शुक्रबारदेखि धार्मिक विधिअनुसार सुरु भएको छ ।

ncell

तीन दिनसम्म निष्ठा र कठोर नियमका साथ मनाइने यस पर्वको पहिलो दिन आज व्रतालु महिलाहरूले नहाय–खाय अर्थात् स्नान गरी चोखो भोजन गरेर व्रतको संकल्प लिएका छन् । बिहानै नजिकका नदी, तलाउ, पोखरी तथा अन्य जलाशयमा पुगेर स्नान गरी पवित्र जल अर्पण गर्दै व्रतालुहरूले भगवान् जिमूतवाहनको पूजा–आराधना गरेका छन् ।

स्नानपछि पानीमै घिरौँलाको पातमा तोरीको तेल, पिना (खली), अक्षता तथा फूल चढाएर भगवान् जिमूतवाहनलाई अर्पण गर्ने र व्रत बस्ने धार्मिक संकल्प गर्ने परम्परा रहेको छ । भगवान्लाई अर्पण गरिएको तोरीको तेल घरमा ल्याएर आफ्ना सन्तानको टाउको र निधारमा प्रसादका रूपमा लगाइदिने चलन छ । यसरी तोरीको तेल लगाइदिँदा सन्तानलाई दृष्टिदोष नलाग्ने, दीर्घायु हुने तथा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ ।

जितिया पर्व विशेषगरी विवाहित महिलाहरूले माइतीघरमा गएर आमा, दिदीबहिनी तथा गाउँका अन्य महिलासँग सामूहिक रूपमा मनाउने मौलिक परम्परा रहेको छ । नहाय–खायका दिन व्रतालुहरूले चोखो तथा सात्त्विक भोजनका रूपमा मरुवा (कोदो) को रोटी, नोनीको सागलगायतका परिकार खाने गर्छन्। कतिपय स्थानमा स्थानीय परम्पराअनुसार माछा तथा अदुवा–जिरा प्रयोग गरिएका परिकारसमेत खाने चलन रहेको छ ।

आज राति व्रतालुहरूले ओठगन गर्नेछन् । अष्टमी तिथि सुरु हुनुअघि गरिने अन्तिम भोजनलाई स्थानीय भाषामा ओठगन भनिन्छ। यस अवसरमा दही–चिउरा लगायतका परिकार खाने परम्परा छ । शनिबार बिहानदेखि भने २४ घण्टाभन्दा बढी समयसम्म चल्ने कठोर निर्जला व्रत सुरु हुनेछ, जसमा व्रतालुहरूले पानीसमेत नखाई उपवास बस्ने गर्छन् ।

पौराणिक मान्यताअनुसार चील र सियारिनले पनि भगवान् जिमूतवाहनको कठोर व्रत बसेर आफ्ना सन्तानको रक्षा गरेको कथा जितिया पर्वका अवसरमा श्रवण गर्ने परम्परा छ । व्रतको अन्तिम दिन अर्थात् आइतबार बिहान पुनः स्नान गरी भगवान् जिमूतवाहन तथा पितृहरूको पूजा–अर्चना गरेपछि पारण गरी जितिया पर्व सम्पन्न गरिनेछ ।

यतिबेला रौतहटका स्थानीय जलाशय, शक्तिपीठ तथा गाउँघरमा जितिया पर्वको विशेष रौनक छाएको छ । बजारमा पूजा सामग्री तथा घिरौँलाका पात खरिद गर्ने व्रतालुहरूको चहलपहलसमेत बढेको छ ।

ताजा खबर

सम्बन्धित खबर