
रौतहट : बैंकिङ कसुरसम्बन्धी ११ वटा फरक–फरक मुद्दामा अदालतबाट कैद सजाय तथा लाखौँ रुपैयाँ जरिवाना तोकिएपछि फरार रहँदै आएका रौतहटका चर्चित निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिका ७ भिमडावर निवासी निर्माण व्यवसायी दयाराम प्रसाद साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त प्रहरी टोलीले फरार प्रतिवादी साहलाई असोज १३ गते नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार देवेन्द्र कुमार कर्णसहित ११ जना पीडितहरूले साहविरुद्ध छुट्टाछुट्टै बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए । उक्त मुद्दाहरूको फैसला गर्दै रौतहट जिल्ला अदालतले साहलाई दोषी ठहर गरी कुल ३ महिना १५ दिन कैद सजाय र रु.५६ लाख ८२ हजार ५०० जरिवाना तोकेको थियो ।
अदालतबाट दोषी ठहर भएलगत्तै साह सजाय र जरिवाना भुक्तान नगरी फरार रहँदै आएका थिए । पक्राउ लगत्तै प्रहरीले साहलाई फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशबमोजिम उनलाई तोकिएको कैद सजाय भुक्तान तथा जरिवाना रकम असुली प्रक्रियाका लागि कारागार कार्यालय गौर रौतहट पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटले अदालतबाट फैसला भई सजाय तथा जरिवाना असुल हुन बाँकी रहेका फरार प्रतिवादीहरूलाई कानुनको दायरामा ल्याउन विशेष अभियान सञ्चालन गरिरहेको जनाए । फैसला कार्यान्वयनलाई थप प्रभावकारी चुस्त र पारदर्शी बनाउन जिल्लाभर फरार अभियुक्तहरूको खोजी कार्यलाई तीव्रता दिइएको डीएसपी गौतमले बताए ।