
दोहा, कतार : कतारमा कार्यरत एसियाली आप्रवासी श्रमिकलाई लक्षित गर्दै आगामी अक्टोबर ३० तारिख शुक्रवार बृहत् ‘एसियन मेडिकल क्याम्प २०२६’ आयोजना हुने भएको छ । कतारको स्वास्थ्य मन्त्रालय र हमद मेडिकल कर्पोरेसनको मातहतमा सञ्चालन हुने शिविरमा विभिन्न स्वास्थ्य परीक्षण तथा उपचार सेवा निःशुल्क उपलब्ध गराइने भएको हो ।
कतारमा क्रियाशील विभिन्न देशका सामुदायिक संस्थाको समन्वयमा आयोजना हुने शिविरमा नेपाली समुदायको सहजीकरण तथा सह आयोजनाको जिम्मेवारी अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज (अनेमुस) कतारले पाएको छ । बिहान ७ बजेदेखि सञ्चालन हुने शिविरमा कतारस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार तथा आम नेपालीलाई सहभागी हुन अनेमुस कतारले आग्रह गरेको छ ।
शिविरमा सहभागीका लागि पूर्ण शारीरिक परीक्षण, रगत तथा पिसाब परीक्षणका लागि स्थलगत प्रयोगशाला, इसिजी, इको, अल्ट्रासाउन्ड, श्रवण शक्ति परीक्षण तथा फिजियोथेरापी सेवा उपलब्ध हुने आयोजकले जनाएको छ ।
त्यसैगरी मुटु, छाला, मूत्र रोग, नाक, कान तथा घाँटी, मिर्गौला, आँखा, हाडजोर्नी र जनरल मेडिसिनका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श दिइनेछ । चिकित्सकको सिफारिसअनुसार आवश्यक औषधि शिविर स्थलबाटै निःशुल्क उपलब्ध गराइने तथा थप उपचार आवश्यक पर्ने बिरामीलाई अस्पताल रेफरल र फलोअपमा समेत सहयोग गरिने जनाइएको छ ।
शिविरका क्रममा स्वास्थ्य सचेतनासम्बन्धी विशेषज्ञ अन्तरक्रिया तथा सहभागीका लागि निःशुल्क भोजनको व्यवस्था समेत गरिएको छ । हमद मेडिकल कर्पोरेसनको रक्तदान युनिटसँगको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम तथा अंग दान दर्ता डेस्कसमेत सञ्चालन गरिनेछ ।
अनेमुस कतारका अनुसार शिविरलाई व्यवस्थित बनाउन र भिडभाड कम गर्न अग्रिम नाम दर्ता अनिवार्य गरिएको छ । कतारमा रहेका नेपालीले आयोजकले उपलब्ध गराएको आधिकारिक गुगल फर्ममार्फत आफ्नो विवरण भरी आफूलाई अनुकूल समय छनोट गरी नाम दर्ता गर्न सक्नेछन् ।
व्यस्त दैनिकी तथा आर्थिक कारणले नियमित स्वास्थ्य परीक्षण गराउन नसकेका नेपालीलाई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य सेवा लिन अनेमुस कतारले आग्रह गरेको छ ।
MEDICAL CAMP- Patient Registration & Medical Survey - INMSQ (For Nepal Community)