२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

Nada
२०८३ असोज १३ गते १७:२७
Shares
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं : सरकारले मुलुकको स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

ncell

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिए ।

उनकाअनुसार बैठकले पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेका विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।

उनले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–पथलैया सडक खण्ड, गर्जाङ खोला साना जलविद्युत आयोजना र बलेफी खोला जलविद्युत आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको पनि जानकारी दिए ।

मन्त्री पोखरेलले सशस्त्र प्रहरी बल नेपालका तालिम शिक्षालय, गुल्म तथा सीमा सुरक्षा पोस्ट (बिओपी) निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न पनि स्वीकृति प्रदान गर्ने निर्णय भएको बताए ।

बैठकले सहसचिव आभा श्रेष्ठ कर्णलाई बढुवा गरी गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गर्ने निर्णय गरेको पनि उनले बताए ।  

नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीमा डा. जग्दीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।

ताजा खबर

सम्बन्धित खबर