
काठमाडौँ : झापाको बिर्तामोडमा एक युवतीलाई हातखुट्टा र घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका-५ मा डेरामा बस्दै आएकी २२ वर्षीया रविना मगरमाथि उक्त घटना भएको हो । इलामको रोङ गाउँपालिका-३ घर भएकी मगरको कोठामा असोज १२ गते राति करिब १०:३० बजे भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भएका ४२ वर्षीय दिलिप चन्द्र राय प्रवेश गरेका थिए ।
रायले मादक पदार्थ सेवन गरी पेट्रोलसमेत लिएर मगरको कोठामा प्रवेश गरेको र तन्ना च्याती उनको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यसपछि उनले मगरलाई आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ । घटनाबारे सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले रायलाई नियन्त्रणमा लिएर घटनासम्बन्धी अनुसन्धान अघि बढाएको छ ।
घटनामा घाइते मगरको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राय बिर्तामोड नगरपालिका-५ स्थित इलाम स्टेनमा रहेको अमृत भोग मिठाई पसलमा काम गर्दै आएको प्रहरीले जनाएको छ । घटनाको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।