२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

फूल खेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

Nada
२०८३ असोज १३ गते ११:५८
Shares
फूल खेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

धनगढी : धनगढी उपमहानगरपालिका-६ मटयारीकी सुशीला विष्टले विगत तीन वर्षदेखि व्यावसायिक रूपमा फूल खेती गर्दै आएकी छिन् । धनगढी उपमहानगरपालिकाद्वारा दिइएको फूल खेती तालिमबाटै सिकेर उनले फूल खेती सुरुआत गरेकी हुन् । 

ncell

न्यू बण्डोली नर्सरी कन्र्सन फार्ममार्फत फूल खेती गर्दै आएकी सुशीला हाल फूल खेतीबाट आत्मनिर्भर बन्नुको साथै आम्दानीसमेत गर्दै आएकी छन् । रु. पाँच लाख लगानीबाट सुरु गरेकी सुशीलाको फूल खेती व्यवसायमा अहिले रु. ५० लाख लगानी पुगेको छ ।

दुई बिघा क्षेत्रफल जमिन लिजमा लिई व्यावसायिक रूपमा फूल खेती गर्दे आएकी सुशीलाले वार्षिक रूपमा रु. ५० लाखको कारोबार गर्दै आएको जानकारी दिइन् । फूलका बिरुवा हुर्काउने, गोडमेल गर्नेदेखि लिएर हेरचाहको लागि ११ जना स्थानीयलाई समेत रोजगार दिएकी छन् । मासिक रूपमा उनीहरूलाई रु. एक लाख ८० हजार उनीहरूको तलबमा खर्च हुने गरेको छ । जसबाट सबै खर्च कटाएर वार्षिक रु. २० लाख बचत हुने गरेको उनको भनाइ छ ।

“दश जना परिवारको सम्पूर्ण खर्च यसै व्यवसायबाट धान्दै आएको छु”, उनले भनिन्, “फूल खेतीबाट आम्दानी राम्रो हुन्न थालेपछि अहिले आर्थिक अवस्था सुधारसँगै आत्मनिर्भर भएकी छु ।” प्रतिकिलोग्राम रु. चार सयमा फूल बिक्री गर्दे आएकी सुशीलाले कैलाली, कञ्चनपुरसहित प्रदेशका नौ वटै जिल्लामा फूल बिक्री गर्दै आएको बताइन् । उनले कहिलेकाहीँ मागअनुसार बिक्रीको लागि काठमाडौँसमेत पठाउने गरेकी छिन् ।  उनले हाल धनगढी उपमहानगरपालिकाको परिसरमा फूल बिक्री केन्द्र राखेर फूल, फूलको माला, बुके, गुच्छासहित फूलका सामग्री बिक्री गर्दै आएकी छिन् ।  

सुशीलाको फूल खेतीमा हाल सयपत्री, गोदावरी, गुलाफ, रजनीगन्धा, जीप्सफिला, ग्याडुलमलगायत विभिन्न जातिका फूल रहेका छन । उनले फूल बिक्रीसँगै फूलका बेर्नासमेत उत्पादन गरी बिक्री गर्दै आएको बताइन् ।

पछिल्लो समय धनगढीमा फूल तथा सजावटका सामग्रीको माग बढ्दै भएको छ । उनले उत्पादन गरेको फूल विवाह, व्रतबन्ध, विभिन्न औपचारिक कार्यक्रम, धार्मिक तथा सांस्कृतिक पर्व, विद्यालयमा हुने गरेका विभिन्न कार्यक्रम र अन्य शुभ कार्यमा प्रयोग हुने गरेको उनले बताइन् ।

उनले सुरु गरेको फूल खेतीले स्थानीय स्तरमै कृषि उद्यम गर्न चाहने अन्य व्यक्तिलाई समेत प्रेरणाको दिएको छ । 

ताजा खबर

सम्बन्धित खबर