२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल सूचना प्रवाह गर्न सांसद राईको सरकारसँग माग

Nada
२०८३ असोज १३ गते ११:४७
Shares
सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल सूचना प्रवाह गर्न सांसद राईको सरकारसँग माग

काठमाडौँ : श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

ncell

प्रतिनिधि सभाको मंगलवारको बैठकमा उनले विशेषगरी हाइड्रोपावर र टनेल निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू सम्पर्कविहीन भएको भन्दै उनीहरूको अवस्थाबारे सूचना दिन ढिलाइ नगर्न सरकारसँग माग गरेका हुन् । सांसद राईले भोजपुर र म्याग्दीका घटनालाई जोड्दै पछिल्लो समय सञ्चार सम्पर्क विच्छेद हुँदा नागरिकको अवस्थाबारे जानकारी पाउन कठिन भएको बताए । उनले म्याग्दीमा कार्यरत एक युवा सम्पर्कविहीन भएको र उनको परिवारले आफूलाई चिन्ता व्यक्त गर्दै सम्पर्क गरेको जानकारी सदनलाई गराए । सांसद राईकाअनुसार प्रभावित क्षेत्रमा सञ्चार सुविधा अवरुद्ध हुँदा मानवीय क्षति र अवस्थाबारे यकिन जानकारी प्राप्त गर्न सकिएको छैन । 

स्थानीय प्रशासनसमेत सूचनाको अभावमा स्पष्ट हुन नसकेको भन्दै उनले भने, ‘जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दा पनि अवस्थाबारे जानकारी आउन सकेको छैन, त्यसैले तत्काल सञ्चार सेवा सुचारु गरी वास्तविक स्थितिको जानकारी दिन सरकार गम्भीर हुनुपर्छ ।’

उनले यसअघि नै सरकार प्रमुखलाई विभिन्न जिम्मेवारी र कामको स्थितिबारे सदनमार्फत प्रश्न सोधेको भए पनि त्यसको जवाफ नआएको भन्दै असन्तुष्टि जनाए । राईले सरकारलाई नागरिकको सुरक्षा र सूचना पाउने हकलाई सुनिश्चित गर्दै बेपत्ताहरूको खोजी कार्य तिब्रताका साथ अगाडि बढाउन आग्रह गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर