
काठमाडौं : ‘कुकुरको छाउराले टोकेको त हो नि’ भन्दै चन्द्रागिरि नगरपालिकाका ४८ वर्षीय एक पुरुषले रेबिजविरुद्धको खोप लगाएनन् । कुकुरले टोकेको केही दिनमै उनमा रेबिजको लक्षण देखिन थाल्यो । संक्रमणपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल (टेकु)मा भर्ना भएका उनको असार ७ गते उपचारकै क्रममा मृत्यु भयो ।
अर्का एक युवक भने आफूले नियमित खानेकुरा खुवाउने कुकुर बिरामी परेपछि अत्तालिँदै टेकु अस्पताल पुगे । टोलमा देखिइरहने र खानेकुरासमेत खुवाउने कुकुरमा रेबिजको शंका लागेपछि उनले रेबिजविरुद्धको खोप लगाएका थिए । परीक्षण गर्दा उक्त कुकुरमा रेबिज भाइरस पोजेटिभ देखिएको थियो । केही दिनमा कुकुर मर्यो ।
टेकु अस्पतालमा दिनहुँजसो कुकुरले टोकेको भन्दै रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या ठुलो छ । सामुदायिक कुकुरदेखि घरपालुवा जनावरले टोकेका व्यक्तिहरू खोप लगाउन अस्पताल पुग्छन् । अस्पतालमा खोप लगाउन आउनेको संख्या बढिरहे पनि नेपालमा रेबिजका कारण हुने मृत्युको जोखिम कायमै छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार, नेपालमा मानिसमा हुने रेबिज संक्रमणमध्ये करिब ९९ प्रतिशत कुकुरको टोकाइबाट हुने गरेको छ । हरेक वर्ष करिब एक सयजनाको रेबिजका कारण मृत्यु हुने गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा देशभर २ लाख २३ हजार ५१० जनावरको टोकाइका घटना रिपोर्ट भएका थिए । तीमध्ये ९६ प्रतिशत घटना कुकुरको टोकाइसँग सम्बन्धित थिए । नेपालको झन्डै आधा जनसंख्या रेबिजको उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने गरेको भन्दै मन्त्रालयले समयमै उचित उपचार र खोप लिन आग्रह गर्दै आएको छ ।
समयमै उपचार र खोप लिए रेबिजबाट बच्न सकिन्छ । तर टोकाइलाई सामान्य ठान्ने, खोपबारे पर्याप्त जानकारी नहुनु र उपचारमा ढिलाइ हुँदा जोखिम बढ्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका संक्रामकरोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
‘विगत दुई दशक वा सोभन्दा अघिको तथ्यांकलाई हेर्दा रेबिजका कारण ज्यान गुमाउने मानिसहरूको संख्यामा सोचेजस्तो कमी आउन नसकेको पाइएको छ,’ उनले भने, ‘मानिस र कुकुर दुवैको संख्या वृद्धि हुनुका साथै सडकमा खान नपाउनु र सवारीसाधनको ठक्करजस्ता कारणले कुकुरहरू आक्रमक बन्ने र मानिसलाई टोक्ने जोखिम बढेको हो ।’
सरकारले रेबिजविरुद्धको खोप उपलब्ध गराउँदै आए पनि यसको महत्त्व र प्रयोगबारे सर्वसाधारणमा अझै पर्याप्त जनचेतना नरहेको डा. पुन बताउँछन् । ‘रेबिजको खोप टोकेको २४ घण्टा, ४८ घण्टा वा तीन दिनभित्रै लगाइसक्नुपर्छ, नत्र ढिलो हुन्छ भन्ने समाजमा व्याप्त धारणा गलत हो,’ उनले भने, ‘खोप जतिसक्दो चाँडो लगाउनु राम्रो भए पनि केही समय ढिलो भइहालेमा अत्तिनु पर्दैन । किनभने खोप लगाउन कहिल्यै ढिलो हुँदैन ।’
कुकुरले टोकेमा के गर्ने ?
संक्रामक रोग विशेषज्ञ डा. पुनका अनुसार कुनै जनावर वा कुकुरले टोकेमा तत्काल प्राथमिक उपचार गर्नुपर्छ । टोकेको ठाउँलाई बग्ने पानी र साबुनले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ । त्यसपछि ढिलो नगरी नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउनुपर्छ ।
सामान्यतया कुकुरले टोकेको १ देखि ३ महिनाभित्र रेबिजका लक्षण देखिन सक्छन् । सुरुमा जिउ दुख्ने, टोकेको ठाउँ झमझमाउने र हल्का ज्वरो आउनेजस्ता लक्षण देखिए पनि पछि हावा र पानीदेखि डराउनेजस्ता गम्भीर लक्षण देखापर्न सक्छन् ।
विशेषगरी छाडा वा अपरिचित कुकुरले टोकेमा, अथवा घरपालुवा कुकुर बाहिर फुत्किएर अन्य कुकुरसँग मिसिएको अवस्थामा टोकेमा रेबिजको जोखिमलाई बेवास्ता गर्न नहुने चिकित्सकको सुझाव छ । समयमै आवश्यक उपचार र खोप लिए रेबिज संक्रमण रोक्न सकिन्छ । त्यसैले कुकुर वा अन्य शंकास्पद जनावरले टोकेको अवस्थामा घाउ सामान्य देखिए पनि बेवास्ता नगरी तत्काल स्वास्थ्य संस्थामा पुग्नु आवश्यक हुन्छ ।