
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा निवासबाट प्रहरी कार्यालय लगिएको र दिउँसो छाडिएको घटनाबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनभिज्ञ छ ।
अनभिज्ञताकैबीच रास्वपाका नेता/कार्यकर्ताले के कारणले नियन्त्रणमा लिइयो र के कारणले छाडियो भनेर प्रश्न उठाएका छन् । यस्तो प्रश्न आन्तरिक रूपमा उठाएका छन् । कतिपयले सार्वजनिक रूपमै प्रश्न गरेका छन् ।
रास्वपाका सांसद राजीव खत्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चोलेन्द्र पक्राउबारे प्रहरीले भन्यो, सुरक्षा थ्रेट । तर पक्राउको कारण गोप्य राखेर छोडियो भनियो । चोलेन्द्रमाथिको सुरक्षा खतरा कसरी ट¥यो पत्तै पाइएन ।’
जबरालाई प्रहरीले शनिबार राति घरबाट नियन्त्रणमा लिएको थियो । दिउँसो छाडेको छ । तर कुन कसुर र के पुर्जीका आधारमा समातिएका हुन् भन्नेबारे प्रहरीले प्रस्ट खुलाएको छैन । अनि के भनेर छाडियो यो पनि केही भनिएको छैन । यसैलाई आधार बनाएर रास्वपाभित्रै प्रश्न उठेको हो ।
छाड्नुअगाडि विभिन्न सञ्चारमाध्यमसँग कुरा गर्दै अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरामाथि भौतिक आक्रमण हुनसक्ने सूचना आएको र तत्काल सुरक्षा दिनुपर्ने भएकाले उनलाई कार्यालय ल्याइएको बताएका थिए ।
प्रहरीको यही स्पष्टीकरणले रास्वपाभित्र प्रश्न जन्माएको हो । सुरक्षा खतरा देखिएको अवस्थामा राज्यले व्यक्तिको सुरक्षा सुनिश्चित गर्नुपर्ने भए पनि त्यसका लागि निवासबाटै सुरक्षाकर्मी थप्न सकिने विकल्प हुँदाहुँदै प्रहरी कार्यालय लैजानुको औचित्य के थियो भन्ने प्रश्न उठेको छ ।
चौतर्फी दबाबपछि प्रहरीले जबरालाई छाडेको छ र अब निवासमै सुरक्षा दिने बताएको छ । आफूलाई निवासमै सहज हुने बताएपछि घरमै सुरक्षा व्यवस्था मिलाउने निर्णय भएको भनिएको छ ।
प्रहरीले आइतबार दिउँसो जबरालाई परिवारको जिम्मा लगाएर घर पठाएको हो । त्यसपछि पनि उनको निवासमा सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको छ ।
कतिपयले जबरामाथि पछिल्लो समय उठेको राजनीतिक तथा न्यायिक विवादको पृष्ठभूमि देखाएका छन् । उनीविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्ताव लामो समय टुंगोमा पुग्न सकेको थिएन । सर्वोच्च अदालतको संवैधानिक इजलासले गत भदौ २४ गते महाभियोगको औचित्य समाप्त भएको भन्दै त्यससम्बन्धी रिट खारेज गरेको थियो ।
त्यसको केही समयपछि नै पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा प्रहरी कार्यालय लगिएको हो । यसकारण पनि रास्वपाभित्र यसले तरंग पैदा गरेको नेताहरू बताउँछन् ।
यो घटनालाई विगतमा रास्वपा सभापति लामिछाने पक्राउ परेको घटनासँग समेत कतिपयले जोडेका छन् । ‘कुनै नागरिकले असुरक्षा महसुस गरे सुरक्षाको प्रत्याभूति गराउने काम राज्यको हो । तर प्रहरीले जसरी अपहरणको शैलीमा घरबाट उठायो यो तरिका सही भएन,’ रास्वपा सांसद खत्री लेख्छन्, ‘हिजो सभापति रवि लामिछानेमाथि गरिएको अपहरणको शैली पनि गलत थियो र आज चोलेन्द्रशमशेर राणामाथि पनि गलत नै भयो ।’
चोलेन्द्रका कर्मलाई लिएर हजार प्रश्न गर्न सकिने र नैतिक तथा आर्थिक पतन भएको छ भने बेहिसाब समातिनुपर्ने उनको आग्रह छ । तर पक्राउ पुर्जीसमेत नदिई मध्यरातमा समात्नु गलत भएको उनको भनाइ छ ।
अगाडि लेख्छन्, ‘आइ एम द मोनार्क अफ अल आइ सर्भे’ भनियो भने सरकार र कानुनप्रतिको भरोसा भुत्ते हुन्छ ।’ अर्थात्, ‘मै राजा हुँ, मैले भनेपछि भयो’ भनियो भने त्यो कानुनी शासन नहुने खत्रीको आग्रह छ ।