
मनाङ : मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरोमा परी २ जनाको शव फेला परेको छ । आइतबार साँझ सवा ६ बजेसम्म कैलाश हेलिकप्टरमार्फत शव उद्धार गरी प्रादेशिक अस्पताल मनाङमा राखिएको छ ।
हिमाल आरोहणमा गएका २२ जनामध्ये (९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ)मध्ये १२ जना फु गाउँमा सुरक्षित सम्पर्कमा आएका छन् भने ८ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ । सबै आरोही तथा स्टाफ नेपाली नागरिक हुन् ।
उद्धार तथा खोजीका लागि काठमाडौंबाट थप हेलिकप्टर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले क्षतिको पूर्ण विवरण संकलन भइरहेको र उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्।