२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

पूर्वप्रधानन्यायाधीशलाई रातभर हिरासतमा राखेर प्रहरी भन्छ- पक्राउ नै गरिएको छैन

Nada
२०८३ असोज ११ गते १३:००
Shares
पूर्वप्रधानन्यायाधीशलाई रातभर हिरासतमा राखेर प्रहरी भन्छ- पक्राउ नै गरिएको छैन

काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले मध्यराति महाराजगञ्जस्थित निवासबाट टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याएर रातभर राखेको छ। तर प्रहरीले भने जबरालाई पक्राउ नगरिएको दाबी गरेको छ।

ncell

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार जबराको जीवनमा गम्भीर सुरक्षा जोखिम रहेको सूचना आएपछि सुरक्षाका लागि उनलाई प्रहरी कार्यालय ल्याइएको हो।

जबरालाई लिन कार्यालयबाट डीएसपीको नेतृत्वमा करिब एक दर्जन सादा पोशाकका प्रहरी राति करिब साढे १२ बजे महाराजगञ्जस्थित उनको निवास पुगेका थिए। प्रहरी टोलीले कार्यालयमा जान आग्रह गरे पनि जबराले सुरुमा अस्वीकार गरेका थिए।

प्रहरीले उनको सुरक्षामा गम्भीर खतरा रहेको सूचना आएको भन्दै आफूसँगै जानुपर्ने बताएपछि जबरा र प्रहरीबीच निवासमै छलफल भएको थियो। करिब डेढ घण्टासम्मको छलफलपछि मात्रै जबरा प्रहरीसँग जान तयार भएका थिए।

त्यसपछि राति करिब २ बजे उनलाई टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुर्‍याइएको थियो। कार्यालय पुगेपछि जबरालाई एसएसपी खड्काकै कार्यकक्षमा राखिएको थियो।

प्रहरी स्रोतका अनुसार जबरालाई कार्यालयमा ल्याएपछि सोधपुछसमेत गरिएको थियो। उनलाई लिन प्रहरी टोली मध्यरातमै परिचालन गरिएको थियो भने तत्काल सुरक्षा व्यवस्थापन गर्नुपर्ने अवस्था आएपछि एसएसपी खड्का पनि राति कार्यालयमै उपस्थित थिए।

तर, प्रहरीले यो घटनालाई पक्राउका रूपमा स्वीकार गरेको छैन। एसएसपी खड्काले उच्च प्रोटोकल भएका व्यक्तिलाई सामान्य प्रक्रियाबाट पक्राउ नगरिने भन्दै जबरा अहिले पनि सुरक्षाका लागि प्रहरीसँगै रहेको बताएका छन्।

उनका अनुसार जबराको सुरक्षा सुनिश्चित भएपछि उनलाई घर पठाउने वा अन्य सुरक्षित स्थानमा राख्नेबारे निर्णय गरिनेछ। प्रहरीले जबरालाई कुन प्रकृतिको सुरक्षा खतरा थियो भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक गरेको छैन।

यसअघि जबरालाई प्रहरीले नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएपछि उनको पक्राउको कारणबारे चासो बढेको थियो। तर प्रहरीले औपचारिक रूपमा पक्राउ नभएको र सुरक्षा प्रयोजनका लागि मात्रै साथमा ल्याइएको दाबी गरेपछि घटनाको प्रकृति थप अन्योलमा परेको छ।

जबरालाई राति निवासबाट प्रहरी कार्यालयसम्म ल्याइएको, त्यहाँ राखेर सोधपुछ गरिएको र रातभर प्रहरी सुरक्षामा राखिएको घटनाक्रम भए पनि प्रहरीले त्यसलाई पक्राउ नभएको बताएको हो।

जबरालाई प्रहरी कार्यालय ल्याउनुको वास्तविक कारण, प्राप्त भएको भनिएको सुरक्षा जोखिमसम्बन्धी सूचना र उनलाई घरबाट बाहिर ल्याउनुपर्ने अवस्थाबारे प्रहरीले थप विवरण सार्वजनिक गर्न बाँकी छ।

सम्बन्धित खबर