२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

हाम फालेर बेपत्ता भएका यादवको शव लालबकैया किनारमा फेला

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज १० गते १७:४३
Shares
हाम फालेर बेपत्ता भएका यादवको शव लालबकैया किनारमा फेला

रौतहट : रौतहटको मौलापुरस्थित लालबकैया नदीको पुलबाट हाम फालेर बेपत्ता भएका बाराका २५ वर्षीय सचिन्द्र यादवको शव २४ घण्टापछि फेला परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शनिबार दिउँसो ३ बजे राजपुर क्षेत्रबाट उनको शव फेला पारेको हो ।

ncell

इलाका प्रहरी कार्यालय मौलापुर र देवाही गोनाहीबाट खटिएको नेपाल प्रहरीको टोली तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन (डीएम) टोलीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेको थियो । डीएम टोलीका प्रमुख रविन थापाको कमान्डमा सञ्चालन गरिएको खोजीका क्रममा राजपुर नगरपालिका–२ स्थित हजमिनिया टोलभन्दा पश्चिमतर्फ रहेको झोलुङ्गे पुल नजिकै लालबकैया नदी किनारमा अड्किएको अवस्थामा यादवको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीका अनुसार घटनालगत्तै खटिएको सुरक्षाकर्मीको टोलीले नदीको तीव्र बहावका बाबजुद सम्भावित जोखिमयुक्त क्षेत्रमा निरन्तर खोजी गरिरहेको थियो ।

बाराको सिम्रौनगढ नगरपालिका–११, कटहरिया घर भएका यादव शुक्रबार आफ्ना दाजु सिकिन्द्र यादवसँग उपचारका लागि रौतहटको गरुडा जाँदै थिए । मोटरसाइकलमा यात्रा गरिरहेका उनी मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलमा पुगेपछि एक्कासि मोटरसाइकल रोक्न लगाएर नदीमा हाम फालेका थिए ।

पारिवारिक स्रोतका अनुसार यादव केही समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट गुज्रिरहेका थिए । दाजुसँग अस्पताल जाने क्रममा पुलमा पुगेपछि अप्रत्याशित रूपमा नदीमा हाम फालेका उनी तीव्र बहावका कारण केही क्षणमै बेपत्ता भएका थिए ।

शव भेटिएलगत्तै प्रहरी निरीक्षक भरत केसीको नेतृत्वमा घटनास्थल पुगेको टोलीले स्थलगत निरीक्षण गरी कानुनी मुचुल्का तयार पारेको छ । मृतकको शव परीक्षण (पोस्टमार्टम) का लागि जिल्ला अस्पताल गौर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यादवले अचानक पुलबाट हाम फाल्नुको विस्तृत कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाको प्रकृति, पारिवारिक पृष्ठभूमि तथा सम्भावित अन्य कारणबारे सूक्ष्म रूपमा अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि थप तथ्य बाहिर आउने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर